काठमाडौं–यो वर्ष पनि राजधानीको बसन्तपुरमा बृहत रुपमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ ।
जुझारु युवाहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा हरेक वर्ष जनवरी १ का दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस १७ गते बुधबार मनाइन लागेको हो ।
काठमाडौंको बसन्तपुरमा बिहान ८ बजेदेखि एक कार्यक्रम गरी १२ औं अन्तर्राष्ट्रिय टोपी दिवस मनाइने तयारी पूरा भएको आयोजक जागरुक युवा अभियान नेपालले स्पष्ट पारेको छ ।
आयोजकका अनुसार विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ ।
२०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाएपछि जागरुक युवाहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गर्दै आएको अभियन्ता ज्ञानमणि नेपाल (कालोटोपी) ले बताउनुभयो ।