काठमाडौं–इलामको चुलाचुली रङ्गमञ्चले पूर्वको यात्रा पश्चात राजधानीवासीलाई पनि नाटकको फरक स्वाद पस्किरहेको छ ।
गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ को मूलकथामा आधारित नाटक यहि फागुन ११ देखि शिल्पी थिएटरमा नियमित मञ्चनमा रहेको हो ।

निर्देशक चेतन आङ्थुपोका अनुसार २०२० देखि २०३४ बीचको तत्कालिन झोडा आवादको सङ्क्रमणकालीन समय र सङ्घर्षको समय नाटकको केन्द्रीय विषय रहेको छ । उक्त उपन्यासलाई नाट्य रूपान्तरणको कार्य सुमन लिङ्देनले गर्नुभएको हो ।

इतिहास केलाउँदा र विश्लेषण गर्दा झोडा फाँड्न लगाउने र बस्ती बसाउने कार्य राजनीतिक भएको निष्कर्ष निर्देशक आङ्थुपोको छ । उहाँ भन्नुहुन्छ, “ खोज्दै जाँदा बसोबास विस्तारको रहस्य त पहाडमा लिम्बूहरूको किपट प्रथा र तराईमा आदिवासीको आवादी जमिन सिध्याउने राजनीति पो रहेछ । यो नाटक झोडा कालखण्डको सारांश मात्र हो । बाँकी यहाँहरूले खोज्ने,बुझ्ने हो ।”

सुरेश माङपाहाङ राई र मोनरथ पोखरेल निर्माता रहेको नाटकले पहाडी लिम्बू र तराईका धिमाल, कुमाल संस्कृति एवं जनजीवनलाई उधिनेको छ । कलाकारको प्रत्यक्ष गायन, सङ्गीत, ध्वनि प्रभावले नाटक जीवन्त बनेको दर्शक प्रतिक्रिया रहेको छ ।

ग्रामीण परिवेश,वेशभूषा,भाषा,शैली र लवजको स्वादिलो संयोजन रहेको नाटकमा बालकृष्ण राईको सङ्गीत निर्देशन रहेको छ । सेटको डिजाइन र निर्माणमा मानाङ लावती र मनिक शङ्करले राम्रो मेहनत गर्नुभएको छ ।

झोडाका मुख्य कलाकारमा मनकुमार योङहाङ, रमिला राई,सन्तोष तामाङ(बोन्बो),प्रिन्स तामाङ,उदय वेघा,मनिष मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शङ्कर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी र चेतना आचार्य हुनुहुन्छ ।

नाटक ‘झोडा’ यहि फागुन २२ सम्म साँझ ५ बजे नियमित मञ्चनमा रहने चुलाचुली रङ्गमञ्चले जनाएको छ । यस बाहेक शानिबार भने अतिरिक्त शोको रुपमा दिउँसो १ बजे पनि मञ्चन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !