
काठमाडौं—अमिर दोङको बहुप्रतिक्षित तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ भोली असोज १ गते राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ विशेष प्रदर्शन हुने भएको छ ।
बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे एक समारोहको आयोजना गरी विशेष प्रदर्शनीको प्रारम्भ गरिने निर्माण पक्षले जनाएको छ ।
तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको चलचित्र प्रदर्शनको तयारी पूरा भएको निर्देशक अमिर दोङले जानकारी दिनुभयो ।
यो चलचित्रमा पछिल्लो समय तामाङ चलचित्र जगतमा महानायकको रुपमा चिनिएका दोङलाई अहिलेको नयाँ अवतारको रुपमा नयाँ नै गेटअप र लुक्स्मा देख्न पाउने बताइएको छ ।
लामो समयको अन्तरालमा दुःखको साथ यो चलचित्र आम दर्शकमाझ ल्याउन लागिएको निर्देशक दोङले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार तामाङ संस्कार संस्कृतिलाई समेत समेटिएको यो चलचित्र एक सामाजिक तथा पारिवारिक कथा वस्तुमा तयार भएको छ ।
ऋतुराज पाख्रिनको कथा लेखन रहेको यो चलचित्र करिब ६ बर्ष अघिदेखि नै निर्माण थालिएको भएपनि कोभिड—१९ महामारी लगायतका विविध कारणले रोकिएको थियो ।
चलचित्रमा अमिर दोङ,सुस्मा थिङ,सजिना लोप्चन,सुस्मा मोक्तान,कुइसाङ रुम्बा,नोर्साङ दोङ,भुइसल लामा,मोनिका मोक्तान,पदम दोङ,दिपेन्द्र लोप्चन,सोम मोक्तान,राज गोले,रन्जिता स्याङतान,अनिता नेगी,माया मोक्तान,दोर्जे मोक्तान,प्रवल थिङ,विशाल थिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पेमा लामा योञ्जनको प्रस्तुती ङिङ्जेमा सह निर्देशकको रुपमा कुइसाङ रुम्बा हुनुहुन्छ । विक्रम मोक्तान र त्रिलोक लामाको छायांकन रहेको चलचित्रको सम्पादन विक्रम मोक्तानले गर्नुभएको हो ।
दिपेन्द्र लोप्चन र रन्जिता स्याङतान निर्माता तथा प्रविनकुमार तामाङ सहनिर्माता रहेको यो चलचित्रमा राजु तामाङको द्धन्द,कृष्ण ब्लोनको कोरियोग्राफी,रेशम लामाको मेकअप र त्रिलोक लामाको कलरिङ रहेको छ ।
च्वइस दोङ र रोशन लामाको संगीत रहेको चलचित्रमा समावेश गीतहरुमा विशाल काल्तान,रोशन लामा,हावा लामा,जितु लोप्चन,निर्मला घिसिङ,रन्जिता घिसिङको स्वर रहेको छ ।
ट्रेलर हेर्नुहोस् :