
काठमाडौं— अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उहाँले मन्तव्य दिने कार्यसूची छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्रसघंको ७८ औं महासभालाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल,सुरक्षा अधिकारी र सञ्चारकर्र्मी सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मा भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाउनुभएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको हो ।