काठमाडौं–अभिनेता जीवन थापा ‘क्षितिज’ ले राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी पाउनुभएको छ ।

विगत लामो समयदेखि नाटक तथा चलचित्र लेखन, निर्देशन तथा अभिनय विधामा संलग्न हुँदैआउनुभएका ‘क्षितिज’ नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको केन्द्रीय सचिवालय सदस्यमा मनोनित हुनुभएको हो । उहाँलाई हालै बसेको महासंघको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

थापा हालै नेकपा माओवादी पार्टी परित्याग गरी दर्जनौँ कलाकर्मीसहित एमाले प्रवेश गर्नुभएको थियो । उहाँलगायतको समूहलाई पार्टी कार्यालय च्यासलमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको थियो ।

यसअघि ‘क्षितिज’ माओवादीको जनसङ्गठन जननाट्यकर्मी महासंघका वरिष्ठ उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो । सानैदेखि माओवादी पार्टीमा आवद्ध रहेर काम गर्दै आउनुभएका उहाँसहितका कलाकर्मी माओवादी अब जनताको पार्टी नरहेको निष्कर्ष निकाल्दै उक्त पार्टीबाट अलग हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !