काठमाडौं–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी शुरु गरेको छ । आफ्नो वार्षिक कार्यतालिका अनुसार जेठ १५ गतेदेखि ३० गतेसम्म प्रतिष्ठानसँगै नेपाल कला परिषद् बबरमहलमा यो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।

प्रदर्शनीको तयारी अन्र्तगत कलाकारका कलाकृति छनौट गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का कार्यकारी संयोजक एवं उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट ६१० कलाकारका ६९७ कलाकृति छनौट गरेका छौं ।’

उपकुलपति लामाका अनुसार ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् तथा आधुनिक चित्रकला,वास्तु र अन्य सिर्जनात्मक कला,हस्तकला,परम्परागत मुर्तिकला,आधुनिक मुर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।

यो पटक खासमा तामाङहरुले पेशागत हिसाबले सिर्जना गर्दै आएको परम्परागत चित्रकला थांकाले पनि विशेष स्थान पाउने प्रचार प्रसार उपसमिति संयोजक,प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङमो लामाले बताउनुभयो । थांका र पौवा का १३० जना कलाकारका १३६ कलाकृति प्रदर्शनीमा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।

‘प्रतिष्ठानको नियमित वार्षिक कार्यक्रम भएपनि यो पटक अलि वृहत हुनेभएकोले प्रदर्शनीका लागि नेपाल कला परिषद्को ठाउँ पनि लिएका छौं ।’–यो पटको प्रदर्शनीबारे थप स्पष्ट पार्दै कुलपति हार्तम्छालीले भन्नुभयो–‘हामी उत्साहित छौं,विधाहरु थपेका छौं,यो पटक स्वयम् कलाकारले आफ्नो कलालाई कसरी परिभाषित गर्नुहुन्छ भनेर ललितकलाका विद्यार्थीहरुलाई दुई समूह बनाएर अनुभूतिजन्य समिक्षाको कार्यक्रम पनि राखेका छौं । त्यो लेखेरै कार्यपत्र प्रस्तुत गर्नुहुन्छ,त्यो प्रतियोगितात्मक छ,यसमा ८ जनालाई नगद पुरस्कार दिने भनेर निर्णय गरेका छौं ।’

यस बाहेक विभिन्न विधालाई समेटेर विभिन्न सम्मान तथा पुरस्कारहरु पनि वितरण गरिने उहाँले उल्लेख गर्नुभयो । यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने छ ।

त्यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरिने स्पष्ट पारिएको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरिनेछ भने राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिने तय भएको जनाएको छ ।

कलाकारहरुलाई प्रोत्साहन,कलाकृति एवं राज्यकै पहिचान प्रवद्र्धन एवं विकासका लागि प्रतिष्ठानले यस खालको प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको तयारीबारे आइतबार प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

विस्तृतमा हेर्नुहोस् प्रेस विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस !