• खोजराज गोले :

काठमाडौं–गोले तामाङ वंश उत्थान समाजको अध्यक्षमा मिनप्रसाद गोले चयन हुनुभएको छ । राजधानीमा बिहीबार सम्पन्न सातौँ राष्ट्रिय भेला तथा तेस्रो अधिवेशनले सुनसरीका मिनप्रसाद गोलेको अध्यक्षतामा ९१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

वार्षिक रूपमा जेठ ४ गते राष्ट्रिय भेला गर्दै आएको समाजले सम्पन्न गरेको अधिवेशनबाट सह–अध्यक्षमा हर्कबहादुर गोले (सिन्धुपाल्चोक),उपाध्यक्ष महिलाबाट सीता गोले(काठमाडौं), सुजेन्द्र गोले (सुनसरी),शुभरत्न गोले (मकवानपुर), मीन गोले (नवलपरासी) र राजु गोले(बाँके) लाई जिम्मेवारी दिएको छ ।

समाजको महासचिवमा धनबहादुर गोले (काठमाडौं), उप(महासचिवमा शुभराज गोले(मकवानपुर) र पेम्बा गोले (काठमाडौं), सचिवमा रवीन्द्र गोले (नुवाकोट) र बाबुराम गोले (सिन्धुपाल्चोक),कोषाध्यक्षमा किर्तिमाया गोले (सिन्धुपाल्चोक), सह(कोषाध्यक्षमा आकाश गोले (मकवानपुर) रहनुभएको छ । यस्तैगरी केन्द्रीय सदस्यहरूमा टेकबहादुर गोले (इलाम), वीरबहादुर गोले (पाँचथर) र रामबहादुर गोले (सर्लाही) रहनुभएको छ ।

निवर्तमान अध्यक्ष जयप्रसाद गोलेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्वमन्त्री मणि लामा गोले प्रमुख अतिथि,पूर्वमन्त्री दावा गोले,बागमती प्रदेशकी पूर्व सांसद हिमाली गोले,नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले साथै मेजर दलमान गोले लगायतका अतिथिहरू रहनुभएको थियो ।

बोम्बो नारायण गोले र चञ्चकुमार तामाङद्वारा सुङसेरकेम गरी उद्घाटन गरिएको कार्यक्रममा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँबस्तीका लामा फुर्ब तामाङ र आले तामाङद्वारा टसीगेप पाठ गरिएको थियो । बोम्बो र लामाद्वारा सुङसेरकेमत तथा टसीगेप पाठ गरिएपछि बल्ल प्रमुख अतिथि मणि लामा गोलेले म्हर्मे (दीप) प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा महासचिव धनबहादुर गोलेले प्रगति(प्रतिवेदन साथै कोषाध्यक्षको तर्फबाट शुभराज गोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएपछि हाउसबाट सर्वसम्मतिमा पास गरिएको थियो ।

प्रमुखअतिथि मणि लामा गोलेले शुभकामना मन्तव्य राख्नुहुँदै नेपालमा तामाङ राष्ट्रमाथि हिन्दूराज्यसत्ताले व्यापक दमन तथा विभेद गर्दै आएको भन्नुहुँदै लामो फेहरिस्त समेत राख्नुभयो । पूर्वमन्त्री दावा गोले तथा पूर्वसभासद् हिमाली गोलेले आफ्नो पुर्खाको इतिहास खोज्नुपर्ने साथै यसको लागि समाजले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोलेले आफू पूर्णतः पहिचानको पक्षमा लागिपरेको साथै ताम्सालिङको लागि गोले ह्रुइको सन्तानले नेतृत्व गर्नुपर्ने समय आएको बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा बलेफी गाउँपालिको अध्यक्ष गङ्गाबहादुर गोलेले आउँदो राष्ट्रिय भेला सिन्धुपाल्चोकको धुसकोटमा गर्नुपर्ने र त्यसको लागि आफ्नो गाउँपालिकाको तर्फबाट आवश्यक व्यवस्थापनको लागि प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । गोलेले धुसकोटलाई पौराणिक तामाङ गाउँको रूपमा विकास गर्न लागिएको समेत बताउनुभएको छ । मोरङमा गोले सांस्कृतिक भवनको लागि पहल गर्नुपर्ने साथै त्यहाँ गोलेको लदिम वा लखङको लागि योजना बनाउने क्रम जारी रहेको लङ्कबहादुर गोलेले बताउनुभएको छ ।

कार्यक्रममा पाँचपोखरी(थाङ्पाल, ५ को वडाध्यक्ष काले गोलेले समाजद्वारा अक्षय कोष खडा गरी गोले विद्यार्थीका लागि छात्र(छात्रावृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तैगरी सूर्यगढी लच्याङका वडाध्यक्ष रवीन्द्र गोलेले आफूहरूका भूमि खोसेर राज्यसत्ताले दास बनाउने क्रम जारी रहेको बनाउनुभएको छ । लच्याङमा गोले तामाङ राजा रहेको र पृथ्वीनारायण शाहले छलपूर्वक हत्या गरी यस क्षेत्रको भूमि तामाङबाट खोसेर भैरवी गुठीमा राखेका थिए । अहिले लोकतन्त्र र गणतन्त्रको कुरा गरिहेको बेलामा समेत यहाँका भूमिपुत्रहरूले आफ्नो जमीन फिर्ता पाएका छैनन् ।

राष्ट्रिय भेला तथा नयाँ कार्यसमितिलाई अतिथिहरूले शुभकामना दिनुभएको कार्यक्रममा बैरागी च्यङ्बा गोले, अभिषेक वाइबा, सन्तोष गोले साथै प्रितम गोलेले साङ्गीतिक प्रस्तुतिहरू पस्कनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !