भाषण र प्रशिक्षणभन्दा कलाको माध्यमबाट दिने सन्देश प्रभावकारी : अध्यक्ष थिङ
- इकमान लामा
काभ्रे–बालविवाह रोकथामलाई लक्षित गरी खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरको छ । बालविवाह विरुद्ध जनचेतना जगाउने उद्देश्यसहित गाउँपलिकाले गाउँपालिकाभित्रका धार्ने माध्यमिक विद्यालय, बालविकास, शारदा, जनहित, बुद्ध, कुमारी, भृकुटी र जनविकास गरी ८ वटा माविमा प्रदर्शन गरेको हो । पुष १७ गेत आइतबारबाट थालिएको यो अभियानको बिहिबार तालढुंगामा समापन गरिएको छ ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले विद्यार्थी तथा नागरिकलाई बालविवाह विरुद्धको जनचेतना जगाउनको लागि नेताको भाषण र विज्ञले दिने प्रशिक्षणभन्दा कलाको माध्यमबाट प्रभावकारी हुने भएकाले सडक नाटक देखाएको स्पष्ट पार्नुभयो । नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल सन्देश रहेको बताउनुभयो ।
अभिभावक कुलतमा लाग्दा बच्चामा पर्ने मानसिक असरसँगै छोराछोरीलाई विद्यालय पठाउने मात्रै नभई उनीहरुको पढाई के कस्तो भइरहेको छ भनेर हेर्ने महत्वपुर्ण जिम्मेवारीलाई समेत नाटकले देखाएको उहाँको भनाई छ ।
त्यस अतिरिक्त कुलतामा लाग्नु हुँदैन । विद्यालयमा पठाएर मात्रै बाच्चको शिक्षा राम्रो हुन्छ भन्ने नभई अभिभावकले आफ्नो छोराछोरीको पढाई कस्तो भइरहेको छ भनेर अभिभावकको भुमिका निर्वाह गर्नु सक्नु पर्छ भनेर पनि देखाएको नाटकले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको हो । अध्यक्ष थिङले समाजिक विकासका विभिन्न बाधकहरुमध्ये बालविवाह एक भएको औल्याउनुभयो ।
उपाध्यक्ष दोर्जमान जिम्बाले जग्गा, पैसा भन्दा ठुलो सम्पत्ति छोराछोरी भएपनि उनीहरुको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताए.उनुभयो । उहाँले नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपाय समेत प्रस्तुत गरिएको बताउनुभयो ।
गाउँपालिकाको शिक्षा अधिकृत विष्णु अधिकारीले गाउँपालिकाभित्र बालविवाह बढ्न थालेपछि यसैलाई केन्द्रित गरेर ‘जुनकिरी’ नाम नाटक देखाएको र यसले बालविवाहमा कमी आउनेमा विश्वास लागेको बताउनुभयो ।
बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा बालविवाह गर्दा जेल पर्नेदेखि लिएर उमेर नपुगी विवाह गरी जन्मेका बच्चाको जन्मदर्ता आदिमा वेहार्नु पर्ने कानुनी समस्याका साथै घरझगडा,बालबालिकामा पर्ने मानसिक असरलाई देखाउन खोजिएको छ ।
नाटकमा शैक्षिक क्षेत्रका विसंगतिसँगै अभिभावकले छोराछोरीको पढाईप्रति वेवास्ता गर्दा र मोबाइलको दुरपयोगले उनीहरुको शिक्षामा पर्ने असरलाई देखाउँदै सुधारको सन्देश समेत दिएको छ भने जनप्रतिनिधिको भुमिका कस्तो हुनुपर्छ भनेर देखाएका छन् । कलाकारहरुले बालविवाहसँगै मद्याक पदार्थ सेवनले मानिसको जीवन पार्ने असरलाई जीवन्त रुपमा प्रस्तुत गरेका थिए ।
विद्यार्थी तथा अभिभावकहरुले धेरै विषयवस्तुलाई समेटेर बनाएको नाटकले समाजको यथार्थ चिणत्र गरेको भन्दै खुसी व्यक्त गरेका छन् । नाटक हेर्न आएका स्थानीय सुनमाया तामाङले वास्ताविक घट्नामा मेल खाएको नाटक हेर्न पाउँदा खुसी लागेको बताउनुभयो । सुनमायाको प्रतिक्रिया छ,‘बालविवाहको कारण मेरै आफन्तले नाटकमा देखाएको जस्तो समस्या भाग्नु परेको थियो । नाटक त मेरै बाहिनीको समस्यालाई हेरेर बनाएको जस्तो लाग्यो ।’
बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजनासँगै सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारिएको पुरु लम्साल निर्देशित सडक नाटक ‘जुनकिरी’मा सुशीलसिंह ठकुरी, दिवाकार घिमिरे, दीपमाला परियार, अनामिका लामिछाने, तेजवी थुलुङ राई, रविन दोङ र शान्ती भट्टाराईको अभिनय रहेको छ ।
समापनमा गाउँपालिका अध्यक्ष थिङले कलाकारहरुलाई प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बासँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत लक्ष्मी प्रसाद अधिकारी,वडा अध्यक्ष, पालिकाका विभिन्न शाकाका प्रमुख, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।