नमोबुद्ध– नमोबुद्ध नगरपालिका–२ कुइकेल थुम्कामा नगरपालिका,इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा सञ्चालनमा रहेको जलवायु अनुकुलन समाधान कार्यक्रमको फ्रान्सेली सांसदले प्रशंसा गर्नुभएको छ । संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले बिहीबार यो कार्यक्रमको अवलोकन गर्दै स्थानीय नगरपालिकाको प्रयासप्रति खुसी व्यक्त गर्नुभएको हो ।
उहाँहरुले रसायनिक मलको कम प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण आफूले देखेको भन्दै विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो । इसिमोडका उपमहानिर्देशक इजाबेला कोजियलले कार्यक्रमको राम्रो प्रभाव देखिएको भन्दै मौरी जस्तै कार्यक्रम विस्तार होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । स्थानीय कृषक यहाँ निर्माण भएका पोखरीका कारण सिंचाई र वस्तुभाउको लागि सहज भएको भन्दै सुकेका पानीका श्रोत समेत फेरी पलाएको भन्दै खुशी छन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले यहाँ सञ्चालित कार्यक्रमको राम्रो प्रतिफल देखिएको भन्दै सहयोगको लागि सबै दातृ निकायहरुलाई अनुरोध गर्नुभयो । अर्गानिक कृषि प्रणाली विकासको लागि नगरपालिका सदैव तयार रहेको भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
फ्रान्सेली २ सांसदले यो कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिनुभएको थियो ।
टोलीमा फ्रेञ्च मिसन उपप्रमुख लिला डेब्राडजलौ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, ७ नं वडाका अध्यक्ष धर्मसिं लामा, मैत्री समूहका अधिकृत जेभियर डुप्रेज, इसिमोडबाट मिसेल गुर्तिन, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्ले, लेखा अधिकृत विमल आचार्य लगायतको उपस्थिती रहेको नगरका प्रेस सल्लाहकार नगेन्द्र अधिकारीले जनाउनुभयो ।