बनेपा–दशैंको अवसरमा बनेपामा काभ्रे महोत्सव हुने भएको छ । जिल्लाको परम्परागत कला संस्कृति,औद्योगीक व्यापार,घरेलु,कृषि,पर्यटन प्रवद्र्धनका लागि पाँचौं काभ्रे महोत्सव हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोभिडले थलिएको व्यापार व्यवसाय क्षेत्रमा सकारात्मक सन्देश प्रवाहका लागि असोज ३ गतेदेखि १५ गतेसम्म स्थानीय उग्रेश्वर मन्दिर परिसरमा महोत्सव हुन लागेको आयोजक काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले स्पष्ट पार्नुभयो ।

दशैंको बेला सहज र सुलभ ढंगले उपभोग्य सामाग्री उपलब्धताका लागि महोत्सवले भुमिका खेल्ने भएकोले सर्वसाधारणको सेवालाई ख्याल गरेर नै महोत्सव आयोजना गरिएको महासचिव रविन्द्र वैदारले बताउनुभयो ।

महोत्सवले स्थानीय कला संस्कृति,उत्पादनलाई समेत जोड दिने उहाँको भनाई छ । स्थानीय उत्पादनदेखि अन्य औद्योगिक सामाग्री,कृषि उपजका स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान,रोटे पिङ, मिनि बञ्जी जम्प,मिकी माउस,नाउ,ड्रागन,टेम्पोलिङ्गका साथै महोत्सव अवधिभर स्थानीयदेखि राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हुने महोत्सव व्यवस्थापक ममता केन्द्र नेपालका निर्देशक संगम लामाले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा विभिन्न बस्तु,उत्पादनका ११५ वटा स्टलहरु राखिनेछन्,ती स्टलहरु बस्तुको प्रकृति अनुसार १७ हजार ५ सयदेखि ३५ हजारसम्ममा उपलब्ध हुनेछ ।

बनेपाभित्र दर्ता भएका उद्योग तथा कम्पनीका लागि १५ प्रतिशत र एक भन्दा बढि स्टल लिनेलाई १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकले जनाएको छ । यद्यपी बनेपा बाहिरका व्यवसायीलाई समेत छुटको विषयमा निर्णय हुनेसक्ने आशय व्यक्त गरिएको छ ।

५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा १ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !