
काठमाडौं–नायक पल शाहले जिल्ला अदालत नवलपुरले मंगलबार गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने संकेत दिएका छन् ।
बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएको उनका कानुन व्यवसायी कमला मोहन वाग्लेले बताए । उनका अनुसार फैसला चित्त बुझ्दो नभएकोले फैसलाको पूर्णपाठ आउनासाथ उच्च अदालतमा जाने सोच लिइएको हो ।
‘यो फैसला न्यायसंगत छैन । पल शाहले पनि मैले करणी गरेकै छैन भनेका छन्, पीडित भनिएका नाबालिगले पनि मसँग पल शाहले करणी नै गरेका छैनन्, हाम्रो बीचमा त्यस्तो सम्बन्ध नै छैन भनिसकेकी छन्,यो अवस्थामा पनि बाल यौन दुरुपयोग भनेर अढाई वर्ष कैदको फैसला न्यायसंगत छैन’, वाग्लेले नेपालखबरसँग यस्तो भनेको खबर प्रकाशित छ ।
यसअघि दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पनि पल शाहले उच्च अदालतमा निवेदन गरेका थिए । तर उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।
उच्च अदालतमा पल शाहलाई पूर्ण सफाइको माग गर्ने वाग्लेले स्पष्ट पारे । पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार रुपैयाँ जरिवाना तिराउन पनि जिल्ला अदालतले फैसला गरेको छ । शाहलाई जिल्ला अदालत नवलपुरले जबर्जस्ती करणीको मुद्दामा भने सफाइ दिएको छ ।