काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्र प्रदर्शन दिवस मनाईंदैछ ।
भदौ १६ गते बिहीबार चलचित्र विकास वोर्डको हल चावहिलमा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभयो ।
अध्यक्ष मोक्तानका अनुसार यो पटक २७ औँ चलचित्र प्रदर्शन दिवस मनाउन लागिएको हो । कोभिडका कारण २ वर्ष औपचारीक रुपमा मनाउन नसकिएको दिवस यस वर्षदेखि निरन्तरताका साथै विशेष नै हुने बताउनुभयो । उहाँका अनुसार कला,संस्कृति,भाषा र धर्मको संरक्षणका लागि स्रष्टालाई सम्मान र नयाँलाई प्रोत्साहनका लागि सम्मान कार्यक्रमका साथै चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ ।
संघका केन्द्रिय सचिव ऋतुराज पाख्रिनका अनुसार चलचित्र निर्माता,गीतकार,संगीतकार,कथाकार,नायक,नायिका,निर्देशक,छायांकार,श्रींगार(मेकअप पर्सन) ,द्धन्द निर्देशक,सम्पादक,कोरियोग्राफर,चरित्र अभिनेता,चरित्र अभिनेत्री,पत्रकार गरी १५ जनालाई टिएफआर सम्मान प्रदान गरिनेछ ।
यो पटकको दिवस भव्य रुपमा मनाउने तयारी संघले गरेपछि कलाकारहरुमा उत्साह देखिएको छ । दिवस मनाउने सन्दर्भमा चलचित्र,गीत,संगीत क्षेत्रका कलाकारहरुले सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
स्वर्गीय जयनन्द लामाको कथा र दिर्नेशनमा पहिलो पटक २०५२ सालमा तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माण भएको इतिहास भेटिन्छ । उक्त भदौ १६ गते रसियन कल्चरमा च्यारीटी शो भएको दिनको सम्झनामा हरेक वर्षको भदौ १६ गते तामाङ चलचित्र संघले तामाङ चलचित्र प्रदर्शन दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।
अध्यक्ष मोक्तानले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो । संघलाई सहआयोजकको रुपमा यो पटक ताम्सालिङ टिभीले सघाउने भएको छ भने प्रचारप्रसार तथा प्रवद्र्धनमा तामाङ चलचित्र संघ बागमती प्रदेशले साथ दिएको उहाँले बताउनुभयो ।
इतिहासको सम्मान र तामाङ चलचित्र जगतको भविष्य निर्माणको सवालमा यस खाले दिवसको महत्वपूर्ण भुमिका हुने भन्दै अध्यक्ष मोक्तानले सरोकारवाला सबैलाई जुट्न आह्वान गर्नुभयो । दिवस मनाउन भएको तयारी सम्बन्धमा संघले गत सोमबार नै पत्रकार सम्भेलनमार्फत जानकारी गराइसकेको संघका महासचिव सुनिता लुङबाले स्पष्ट पार्नुभयो ।