काठमाडौं–पाँच दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनुहुने भएको छ ।
भारतीय प्रधानसेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहने निश्चित भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्पष्ट पारेको खबर नेपाल खबरमा उल्लेख छ ।
सो खबरका अनुसार पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्बाट सैद्दान्तिक स्वीकृति मिलिसकेको छ । तर भ्रमणको औपचारिक घोषणा भइसकेको छैन ।
भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे रक्षा परराष्ट्र मन्त्रालय र नेपाली सेनाबीच छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपाली सेनाले साउन दोश्रो साता भारतसँग दुईवटा सैनिक हेलिकोप्टर अनुदानमा मागेको छ । पाण्डेको भ्रमणका क्रममा ती हेलिकोप्टर सहयोगको घोषणा हुनसक्ने कतिपय अधिकारीको अनुमान छ ।
भ्रमणबाट दुई देशबीचको सैन्य सहकार्य मजबुत हुने अपेक्षा लिइएको सिलवालले बताउनुभयो ।
वास्तवमा पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नुहुनेछ ।
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भए यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ । तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आउनुभएको थियो ।
photo : nepalkhabar.com