काभ्रे–वडा अध्यक्षमा निर्वाचित भएको तीन महिनापछि काभ्रेको तेमाल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले गाउँ कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी प्राप्त गर्नुभएको छ । शालिन,इमान्दार एवं जुझारु वडा अध्यक्ष तामाङले तेमाल सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले उहाँलाई यो जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिकाले स्पष्ट पारेको छ ।

जनता र जनप्रतिनिधिबीचको दुरी घटाउने,जनतालाई सरकारको नीति,कार्यक्रम र बजेटबारे सुसूचित गरी विकास निर्माणमा जनसहभागिता बढाउने,पालिकाबाट सम्पादन गरिने कार्यको आधिकारीक सूचना सार्वजनिक गर्ने लगायतका जिम्मेवारीका लागि तामाङलाई प्रवक्ता तोकिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारको नीति,कार्यक्रम तथा बजेट निर्माणका साथै कार्यन्वयनमा पालिका अध्यक्षलाई सघाउने काममा समेत प्रवक्ताको महत्वपूर्ण भुमिका हुन्छ ।

यसैबीच तेमाल गाउँपालिकामा पारदर्शी तबरले विकास निर्माण गर्न सघाउने गरी अनियमित कार्यको छानविन समिति समेत गठन गठन गरिएको छ । गाउँ कार्यपालिका बैठकले वडा नं. ५ का वडा अध्यक्ष हजारसिं तामाङको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको जनाएको छ ।

समितिका सदस्यहरुमा वडा नं. १ का वडा अध्यक्ष इन्द्रबहादुर अधिकारी,वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ,कार्यपालिका सदस्यहरु केशव रसाइली र छ्योइसाङ तामाङलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !