बनेपा–काभ्रेका तामाङ पत्रकारहरुले पनि २८ औं तामाङ प्रसारण दिवस मनाएका छन् । तामाङ पत्रकार संघ संघीय महासचिव तिर्थमान बल तामाङको प्रमुख आतिथ्यतामा बनेपाको हिमालय माविका विद्यार्थीहरुमाझ “सञ्चारमा तामाङ पत्रकार र तामाङ भाषाको शिक्षा” विषयक अन्तरक्रिया र गरिव जेहेन्दार विद्यार्थीलाई स्टेशनरी वितरण गर्दै संघको काभ्रे शाखाले प्रशारण दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वलले राजधानी काठमाडौ उपत्यका लगायत वरिपरीका जिल्लाहरुमा तामाङ समुदायको बढी बसोबास रहेको भएपनि राज्यले छायाँमा पारेको बताउनुभयो । तामाङ समुदायको हक,अधिकार,धर्म,संस्कृति,पहिचानका विषयमा राज्यले विभेद गर्दै आएको उल्लेख गर्दै उहाँले तामाङ सञ्चारकर्मीहरुले सञ्चारका क्षेत्रमार्फत यसखाले विभेदको चिरफार गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायपूर्ण समाज निर्माणका लागि आफ्नो समुदायको मुद्धाहरु पहिचान गर्दै त्यसैमाथि कलम चलाउन तामाङ पत्रकारहरु चुक्न नहुने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो पहिचान र अस्तित्वमाथि प्रहार गर्ने कार्यलाई वैधानिक बनाउने कानुनको सिर्जनाले तामाङ समुदाय अहिलेसम्म पछि परेको महासचिव वलको भनाई छ । समावेशीताको कार्यन्वयन तथा सामाजिक न्यायमार्फत समृद्ध समाजको निर्माणका लागि यसखाले विभेदकारी नीति,कानुनहरु खारेज गर्न आवश्यक हुने उहाँको जोड छ ।राज्यको सञ्चार माध्यम रेडियो नेपालमार्फत तामाङ समुदायको बोली,तामाङ भाषाको समाचार प्रसारणको लागि ४४ वर्ष कुर्नुपरेको स्मरण गराउँदै उहाँले २०५१ भदौ १ गते तामाङ भाषामा समाचार प्रशारण प्रारम्भ भएको ऐतिहासिक दिनको सम्झना र सम्मान गर्दै आफ्नै मातृभाषामा मन्तव्य राख्नुभयो । यहि ऐतिहासीक दिनको सम्मानमा तामाङ पत्रकारहरुको छाता संगठन संघको प्रदेश कमिटि र जिल्ला शाखाहरुले रचनात्मक गतिविधिहरु गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई तामाङ भाषा,संस्कृति,रितिरिवाज र शिक्षाका सम्बन्धमा तामाङ मातृभाषा शिक्षाका अभियन्ता दर्पण व्लोनले प्रशिक्षण दिनुभएको थियो । सहभागी कक्षा ६ देखि १० सम्मका ३० जना तामाङ विद्यार्थीहरुमध्येबाट गरिब तथा जेहेन्दार विद्र्याीहरु प्रगेस तामाङ र सजिना तामाङलाई प्रोत्साहन स्वरुप नगद सहित स्टेशनरी प्रदान गरिएको थियो । यस्तै तामाङ पत्रकार संघ काभ्रेको समन्वयमा सपना तामाङ,कुसुम तामाङ र सुमन तामाङलाई छात्रवृति स्वरुप बनेपाको चाँदनी चोकमा रहेको एलोस कम्प्युटर इन्टिच्युटमा बेसिक तालिम निःशुल्क सिक्न पाउने व्यवस्था गरिएको छ ।

शिक्षा लगायतका क्षेत्रमा तामाङको पहुँच र वर्तमान स्थितीबारे अवगत गराउँदैै मातृभाषामा आधारभुत तहसम्म शिक्षा लिन पाउने व्यवस्था कार्यन्वयनमा उत्प्रेरणा जगाउन यस खालको कार्यक्रम आयोजना गरिएको काभ्रे शाखाका अध्यक्ष अञ्जली तामाङले जानकारी दिनुभयो । समापनमा प्रमुख अतिथि वल,भाषा तथा लिपी अभियन्ता व्लोन,विद्यालयका प्रध्यानाध्यापक धुर्वप्रसाद भट्टराईलाई कार्यक्रमका सभापति अञ्जली तामाङले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय सचिव शिशिर दोङ, फोनिज बागमती प्रदेश ईञ्चार्ज पेमा लामा,प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी,प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ लगायतले पनि तामाङ प्रशारण दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य शुकदेव थपलिया,एक्टिभ मिडिया नेपाल डटकमका संचालक मणीराम दाहाल लगायतको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस !