पत्रकार हुदै बलेफी र नेत्रावती डाब्जोङ गाउँपालिका उपाध्यक्ष जितेका लामा र चोदेनलाई विशेष सम्मान
काठमाडौं– अठ्ठाइसौं तामाङ प्रशारण दिवसको अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामा सहित ५ जना पत्रकार सम्मानित हुनुभएको छ ।
तामाङ पत्रकार संघ बागमती प्रदेशद्धारा राजधानीमा मंगलबार आयोजित औपचारिक कार्यक्रमका बीच चौतारी महासचिव हिरामान लामा,नेपाल प्रेस युनियन केन्द्रिय सचिव लालकुमार मोक्तान,केन्द्रिय सदस्य नेत्र तामाङ,प्रेस सेन्टर नेपालका सह–कोषाध्यक्ष बुद्ध लोप्न र सचिव डिल बहादुर थोकर सम्मानित हुनुभएको हो ।
तामाङ पत्रकार संघमा समेत आवद्ध उहाँहरु पत्रकारहरुको महत्वपूर्ण संगठनहरुमा निर्वाचित हुन सफल भएको भन्दै बधाई ज्ञापन गरिएको छ भने तामाङ कुलमा जन्मेर पत्रकारिता मार्फत समुदाय एवं समग्र समाजको विकासमा महत्वपूर्ण भुमिका निभाएको भन्दै सम्मान गरिएको हो ।
लामा गत फागुन २७ र २८ गते पोखरामा भएको चौतारीको राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित हुनुभएको हो भने मोक्तान र तामाङ साउन ६ र ७ गते भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट क्रमश सचिव र सदस्यमा निर्वाचित हुनुभएको हो ।
सम्मानित व्यक्तित्व लोप्चन प्रेस सेन्टर नेपालको साउन १३ र १४ गतेको दोस्रो पूर्ण बैठकबाट सह–कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो भने थोकर पनि सचिवमा सर्वसम्मत हुनुभएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई बागमती प्रदेशका मुख्य मन्त्री रोजेन्द्र प्रसाद पाण्डेले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुुख्य मन्त्री पाण्डेले सञ्चार क्षेत्र समुदाय परिवर्तनको प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै यो क्षेत्र अझ थप जिम्मेवार भएको प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो ।
समाजको विकास शिक्षा र सीपको विकास मार्फत मात्रै हुनेमा जोड दिनुहुदै उहाँले बागमती प्रदेश सरकारले सबै समुदायको समाज विकास गर्ने खालका नीति,कार्यक्रम र बजेट ल्याएको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशको माध्यम भाषाको रुपमा तामाङ र नेवारी भाषा प्रयोगको सुरुवात गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
सम्मानित पत्रकार मध्येबाट प्रेस चौतारीका महासचिव लामाले आफूहरुले पाएको सम्मानले समुदायसँग अझ सापिप्यतामा रहेर काम गर्न थप हौसला मिल्ने बताउनुभयो । बागमती प्रदेश सरकारलाई तामाङ विकास प्राधिकरण गठन गरी अघि बढ्न आग्रह गर्नुभयो । यसले यो प्रदेशको मुहार फेर्न सकिने उहाँको तर्क छ ।
पत्रकार हुदै बलेफी र नेत्रावती डाब्जोङ गाउँपालिका उपाध्यक्ष जितेका लामा र चोदेनलाई विशेष सम्मान
कार्यक्रममा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा र धादिङको नेत्रावती डाब्जोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेन विशेष रुपमा सम्मानित हुनुभएको छ । कार्यक्रममा संघको बागमती प्रदेश सचिवालय सदस्य सरु लामा तामाङ र दिव्य दर्शन टेलिभिजन धादिङका पत्रकार सीता च्योथेन सम्मानित हुनुभएको हो ।
तामाङ कुलमा जन्मेर स्थानीय सरकारको नीतिगत तहमा पुग्न सक्नु समुदायकै गर्वको विषय भन्दै लामा र चोदेन द्धयलाई सम्मान गरिएको हो । तामाङ पत्रकार संघको सदस्य रहेका लामा र चोदेन द्धय गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
तामाङ प्रशारण दिवसको अवसरमा सम्मान कार्यक्रमका साथै ‘बागमती प्रदेशका तामाङ रेडियो कार्यक्रमहरुको अवस्था,अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङले सबै समुदायको विकास निर्माणका सवालमा बागमती प्रदेशका मुख्य मन्त्री उदार नै पाएको बताउनुभयो ।
तामाङ पत्रकार संघ केन्द्रिय समिति अध्यक्ष सुवास योञ्जन,नेपाल तामाङ घेदुङका कार्यबहाक महासचिव जगत दोङ, तामाङ पत्रकार संघका संस्थापक रविन्द्र ग्यावक तामाङले तामाङ समुदाय र सञ्चारका विषयमा धारणा राख्दै राज्यले विभेदपूर्ण व्यबहार गर्न नहुनेमा जोड दिनुभयो ।
विशेष अतिथि तामाङ पत्रकार संघ केन्द्रिय अध्यक्ष योञ्जनले सञ्चार,समुदायको भाषा,संस्कृति संरक्षणको क्षेत्रमा राज्यका नीति उदार हुनुपर्ने धारणा राख्नुभयो ।
सम्मानित बलेफी गाउँपालिकाका उपाध्यक्ष लामाले पत्रकारिता क्षेत्र हुदै अघि बढ्नेक्रममा आफूले यो सफलता पाएको बताउनुभयो । उहाँले अबको सञ्चार माध्यमले विक्नेभन्दा पनि टिक्ने तर्फ ध्यान दिनुपर्ने र यसमा आफ्नो तर्फबाट सकेको सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
सम्मानित अर्का व्यक्तित्व चोदेनले तामाङ समुदायको अवस्था अझै नाजुक रहेको उल्लेख गर्दै राज्यको सहयोग र सबैको सहकार्यबाट मात्रै माथि उकासिने धारणा व्यक्त गर्नुभयो ।
घेदुङका कार्यबहाक महासचिव दोङले घेदुङ आफ्नै घर किनेर गतिविधि गर्ने योजनामा रहेको जानकारी गराउँदै यस कार्यमा सहयोगका लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गाउनुभयो ।
तामाङ पत्रकार संघका संस्थापक तामाङले तामाङ समुदायको संस्कृति,साहित्य,इतिहासको खोज अनुसन्धान,प्रचारका साथै अभिलेखीकरणका कार्यमा तामाङ पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । तामाङ कार्यक्रमको स्तरको विकास,संरक्षणमा सञ्चारकर्मी,सञ्चार उद्यमी,राज्यबीचको समन्वय आवश्यक रहेको उहाँको जोड छ ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ र तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले समुदायको पहिचान र संस्कृति उसको अस्तीत्वसँग गाँसिएको भन्दै यसको संरक्षण र विकासमा जोड दिनुभयो ।
तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटिले आफ्ना सदस्य रहेका पालिका उपाध्यक्ष द्धय र ५ पत्रकारलाई सम्मानका साथै अन्तक्र्रिया कार्यक्रम गरेको तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो ।
उपाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व महासचिव बाबु घिसिङ,तामाङ पत्रकार संघ केन्द्रिय समिति पूर्व अध्यक्ष विष्णु मोक्तान, आदिवासी जनजाति महासंघ(समाजवादी) उपमहासचिव लाप्साङ पाख्रीन,नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तान,सदस्य नेत्र तामाङ,प्रेस सेन्टर नेपालका सह–कोषाध्यक्ष बुद्ध लोप्चन,नेपाल तामाङ युवा घेदुङका अध्यक्ष विलम मोक्तान,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमतीका सचिव शिशिर दोङ, नेपाल पत्रकार महासंघ बागमतीका सदस्य अर्जुन ग्लान तामाङ, तामाङ पत्रकार संघ केन्दिय सदस्य मिलन लामा,नेपाल आदिवासी जनजाति पत्रकार संघ रसुवाका अध्यक्ष दिपक थोकर,नाङसाल क्लव नेपालका महासचिव राम बि लामा, तामाङ पत्रकार संघ काठमाडौंका अध्यक्ष सन्तोष योञ्जन,पूर्व अध्यक्ष युनिक रक्षे ग्लान,तामाङ पत्रकार संघ भक्तपुर अध्यक्ष सुदिन दोङ,तामाङ पत्रकार संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रितम गोले,तामाङ डाजाङका पूर्व अध्यक्ष इन्द्र तामाङ,सामाजिक अभियन्ता रोश्नी गोले लगायत अतिथिहरु हुनुहुन्थ्यो ।
२०५१ साल भदौ १ मा पहिलो पटक राज्यद्धारा सञ्चालित सरकारी सञ्चार माध्यम रेडियो नेपालबाट तामाङ समाचार प्रशारण आरम्भ भएको दिनको सम्झना गर्दै तामाङ समुदायमा जन्मेर पत्रकारिता क्षेत्रमा क्रियाशिल तामाङ पत्रकारहरुले प्रत्येक भदौ १ गतेलाई तामाङ प्रशारण दिवसको रुपमा मनाउँदै आएका छन् ।