महाभारत : काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीले किताब बोक्ने झोलासँगै खेलकुद सामाग्री पाएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–८ घर्तिछापस्थित् गडुलदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गर्नुभएको हो ।
सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउन झोलासँगै विद्यालयलाई क्यारिम बोर्ड,पोर्ट जस्ता खेलुकद सामाग्रीहरु सहयोग गरेको योञ्जनले बताउनुभयो ।
गरिवी, भौगोलिक विकता र सामाजिक रुपले पछि परेका महाभारत गाउँपालिकाका बालबालिकाकोे खाली हात तथा प्लाष्टिकको झोला किताब बोकेर पढ्न हिडेको देखेपछि आफुले अभावको बिच पढ्नु परेपनि बालबालिकाले त्यसरी पढ्नु नपरोस् भनेर विद्यार्थीलाई किताब बोक्ने झोला सहयोग गरेको उहाँले बताउनुभयो । ‘टाढाटाढाबाट हिँडेर आउने विद्यार्थीलाई झोला नभएर किताब जोगाउन समस्या देखेपछि सहयोग गरेको हो ।’–योञ्जनले भन्नुभयो ।
यसअघि कोरोना महामारीको कहर राहतसँगै विभिन्न समयमा नागरिक तथा विद्यार्थीलाई झोला,खेलकुद जस्ता सामाग्री सहयोग गर्दै आएका योञ्जनले यो पटक महाभारतका बालबालिकाहरुलाई सम्झिनुभएको हो ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले नेता तथा समाजसेवी योञ्जनको सहयोगले खुल्ला रुपमा हात किताब बोक्नु पर्ने बाध्यता रहेको विद्यार्थीलाई राहत भएको बताउनुभयो । उक्त समाग्री नेता तथा समाजसेवी योञ्जनले विद्यालयका प्रधानध्यापक थापालाई एक कार्यक्रमबिच हस्तान्तरण गर्नुभएको थियो ।
फोटो र समाचार : इकमान लामा