• नमोबुद्ध संवाददाता,

तेमाल- काभ्रेको तेमाल गाउँपालिकाको घरदैलो सेवा अभियान अन्तर्गत सर्स्यूंखर्क र चुखामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सोमबार वडा नं.१ सर्स्यूंखर्कमा ८९ जना र मंगलबार वडा नं. २ चुखाका ४१ जनाले भत्ता बुझेका छन् ।

भत्ता वितरणका लागि पालिका अध्यक्ष सलाम सिं तामाङ,उपाध्यक्ष दुर्गामाया तामाङ र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल पालिका कर्मचारी र सिटीजन्स बैंक पोखरी नारायणस्थान शाखाको कर्मचारी टोलि लिएर सर्स्यूंखर्क आउनुभएको थियो ।

कोभिड १९ महामारीका बेला पालिका केन्द्रमा हुने भिडभाड कम गराई जोखिम न्यूनीकरण गर्न तथा जनतालाई सहज होस् भन्ने हेतुले पालिकाले वडा-वडामै भत्ता वितरण कार्यक्रम गरिएको उपाध्यक्ष दुर्गामाया तामाङले बताउनुभयो ।

स्वास्थ्य समस्याले थलिएर वडा कार्यालयसम्म आउन नसकेका लाभग्राहीलाई घरमै गएर समेत भत्ता वितरण गरिएको १ नं. वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठको सहजिकरणमा पालिकाका सामाजिक विकास शाखाका उद्दव पाण्डे र वडा सचिव पमिता तामाङले त्यस्ता समस्या भएर वडा कार्यालय आउन नसकेका लाभग्राहीको घरमै पुगेर भत्ता वितरण गर्नुभएको हो ।

आफ्नो वडामा २ सय भन्दा बढिले सामाजिक सुरक्षा भत्ता लिने गरेको जनाउँदै वडाध्यक्ष श्रेष्ठले साविक वडा नं. ४ आधाबाटका अधिकांशले पोखरी नारायणस्थानबाट नै भत्ता बुझेको र अन्यले गाउँमै सेवा पाएको बताउनुभयो ।

त्यस्तै वडा नं. २ चुखाका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु पनि खुसी भएका छन् । गाउँमै सामाजिक सुरक्षा भत्ता पाएपछि उनिहरु खुसी भएका हुन् ।

जनतालाई सहज होस् भनेर वडामै गरिएको कार्यक्रमबाट ४१ जना लाभान्वित भएको वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।

वडा नं. २ मा पनि १३ जना अशक्त जेष्ठ नागरिकहरुलाई घरमै गएर भत्ता वितरण गरिएको वडा सदस्य डिल्लीमान तामाङले जनाउनुभयो ।

सरकारले ७० वर्ष माथिका बृद्ध बृद्धा,एकल महिला,दलित बालबालिका र अपाङ्गता भएका ब्यक्तिहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ । भत्ता ४/४ महिनामा स्थानीय सरकारले भुक्तानी गर्ने गरेको छ । तेमालका उनिहरुले अहिले गाउँमै आर्थिक वर्ष २०७७/७८ को दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता लिन पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !