• नमोबुद्ध संवाददाता,

तेमाल-काभ्रेको तेमाल गाउँपालिकाको वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । कोरोना महामारीबाट पर्न सक्ने जोखिमलाई ख्याल गर्दै भिडभाड नहोस् र जनतालाई सहज होस् भनेर वडा वडामै यो कार्यक्रम गर्ने तय भएअनुसार बिहीबार वडा नं. ९ बाट भत्ता वितरण थालिएको पालिकाले जनाएको छ ।

पालिका केन्द्र पोखरी नारायणस्थानबाट बैंकिङ सेवा दिदै आएको सिटिजन्स् बैंक तेमालका ९ वटै वडामा पुगेर आर्थिक वर्ष २०७७/७८ को दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता दिन तयार भएपछि लाभग्राहीहरु खुसी भएका छन् ।

कोरोना महामारीका बेला स्थानीय लाभग्राहीलाई सहजता प्रदान गर्न भत्ता वितरण कार्यक्रम वडा वडामै तय गरिएको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

तेमालमा ७० वर्ष माथिका बृद्धबृद्धा,एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत २ हजार ९ सय जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताउनुभयो ।

यो अवस्थामा जनताको दुखेसो सम्बोधनकै लागि घरदैलो सेवा अन्तर्गत वडा-वडामै भत्ता वितरण थालिएको पालिकाका उपाध्यक्ष तामाङको भनाई छ । उहाँले भन्नुभयो-“शनिबार बाहेकको दिन पारेर प्रत्येक वडामा पुगेर भत्ता वितरण गर्नेछौं ।”

शुक्रबार वडा नं. ८ मा ६४ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् । बिहीबार आफ्नो वडामा १२५ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको ९ नं. वडाका वडाध्यक्ष चन्द्र दोङले जानकारी दिनुभयो । केहि छुटेकालाई छिट्टै वडाले नै वितरण गर्ने उहाँले बताउनुभयो ।

“कोरोना भाइरसको बेला भिडभाड नहुनेगरी हाम्रो वडामा पनि भत्ता वितरण गर्नेछौं ।”- वडा नंं. १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले भन्नुभयो ।

आफ्नो वडामा जेठ ३१ गते भत्ता वितरणको कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ताका लागि सिटिजन्स् बैंकमा खाता खोल्न बाँकी रहेकाहरुलाई त्यही दिन कागजातका साथ उपस्थित हुन पनि अनुरोध गर्नुभएको छ । यस्तो आह्वान तेमाल गाउँपालिका र ९ वटै वडा कार्यालयहरुले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !