- नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको तेमाल गाउँपालिका १ सर्स्यूंखर्कमा गरिएको निशुल्क स्वास्थ्य शिविरले स्थानीय वृद्धवृद्धाहरुमा खुसी छाएको छ । १ नं. वडा कार्यालय सर्स्यूंखर्कको आयोजनामा शनिबार भएको शिविरले ७० वर्ष माथिका जेष्ठ नागरिकहरु खुसी भएका हुन् ।
स्थानीय सुनबहादुर तामाङले वडाले गरेको यो शिविर आफूहरुका लागि राम्रो अवसर भएको बताउनुभयो ।
छाती दुख्ने, टाउको दुख्ने समस्या रहेको बताउने ८१ वर्षीया तपमाया कार्की शिविरमा स्वास्थ्य परीक्षण पश्चात् निकै हर्षित देखिनुहुन्थ्यो ।
“आफ्नै छोराछोरीले जसरी वडाध्यक्ष बाबुले यति धेरै माया गरेर गाउँमै डक्टरहरु बोलाउनुभयो, औषधि पनि पाएँ ।” खुसी हुँदै उहाँले भन्नुभयो-“अस्पताल जानै परेन ।”
शिविरको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गाविस उपाध्यक्ष एवं राजनीतिज्ञ ईन्द्र बहादुर तामाङले वृद्ध आमाबाबुको सदैव सम्मान गर्नुपर्ने उल्लेख गर्दै यहि शिलशिलामा वडा सरकारले निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले वृद्धवृद्धाहरुलाई जीवनप्रति सकारात्मक आस्था राख्न अनुरोध गर्दै जीवन दुखसुखको संगम भएको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो- “हाम्रो अगाडि बगिरहेको सुनकोशी धेरै नदिहरु मिलेर बनेको हो, हाम्रो जीवन पनि उस्तै हो धेरै दुखसुख मिलेर बनेको छ, त्यसैले जीन्दगीलाई भारी सम्झिनु हुन्न ।”
स्थानीय समाजसेवी भरत पाठकले वृद्धवृद्धाको स्वास्थ्यप्रति ख्याल गर्ने आयोजकको कामको सराहना गर्नुभयो ।
वडाध्यक्ष मानबहादुर श्रेष्ठले वृद्धवृद्धा मार्गदर्शक व्यक्तित्व भएको र उहाँहरुको हेरचाहमा वडाको ध्यान गएकोले यस्तो कार्यक्रम गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा पनि वडा स्तरमा जेष्ठ नागरिकको हितकारी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
शिविरमा स्वास्थ्यकर्मीहरुको संयोजन गरेका डाक्टर रामशरण श्रेष्ठले वृद्धवृद्धाहरुको हाडजोर्नी, प्रेसर,सुगर,ग्याष्ट्रिक,दम, छातीको संक्रमण,ज्वरो लगायतका जनरल समस्याहरुको परीक्षण गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षण गरिएका १४७ जना जेष्ठ नागरिकहरुमा उच्च रक्तचापका २६,सुगर समस्या ७,दमको समस्या ३७, छातीको संक्रमण ३,रुगाखोकी ९, ग्याष्ट्रिक समस्या ५६, हाडजोर्नीको समस्या १६, मष्तिस्क पक्षघातको समस्या ३, मोतिबिन्दुका ३, शारीरिक कमजोरी भएका १५ जना भेटिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यिनै समस्याहरुबारे आवश्यक परामर्श र परीक्षणका साथै परीक्षणपछि १३६ लाई निशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा इसिजी सेवा समेत थियो ।
शिविरमा मेथिनकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर श्रेष्ठ,भक्तपुर अस्पताल जनरल मेडिसिन विशेषज्ञ सुनिल ढुंगेल,फ्रेन्डसिप कम्युनिटी अस्पताल सुकेधाराका मेडिकल अधिकृत विनोद वेकोजु,कान्ति बालमैत्री अस्पतालका स्टाफ नर्स कविता जिरेल,मेथिनकोट अस्पतालका स्टाफ नर्स रिना तामाङ,ल्याव टेक्निसियन सञ्जिता राउत,सामुदायिक स्वास्थ्य ईकाई सर्स्यूंखर्कका प्रमुख लोकनाथ चिमौरिया,विष्णु वली,रोष्मा पन्त,रश्मी थपलिया,मिलन पाण्डे तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको टोलि खटिएकाे थियो ।
शिविर प्रभावकारी बनाउन शिविरको सहजिकरणमा जनप्रतिनिधि,स्थानीय शिक्षकहरु र विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुको पनि सक्रियता थियो ।
जेष्ठ नागरिकहरुलाई सहजताका लागि शिविर सञ्चालन स्थलसम्म गाडीमा ल्याउने र पुर्याउने व्यवस्था समेत गरिएको थियो ।