• नमोबुद्ध संवाददाता,

काठमाडौं–सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरेकोमा यसलाई सरकारले अनुमोदन गरेको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको सहमति अनुमोदन गरेको मन्त्रिपरिषद् स्रोतले स्पष्ट पारेको छ ।

दिउँसो दुई वार्ता टोलिबीच चन्द समूहमाथिको प्रतिबन्ध हटाउने, विप्लवका बन्दी कार्यकर्ता रिहाइ तथा मुद्दा खारेज गर्ने लगायत सहमति भएको थियो ।

शुक्रबार सार्वजनिक हुँदै विप्लव

बिहिबार भएको सहमति औपचारिक रुपमा शुक्रबार घोषणा गरिदैछ । यसका लागि राजधानीमा विशेष कार्यक्रम नै आयोजना गरिएको छ । दुई वर्षसम्म भूमिगत भएका विप्लव तिनै कार्यक्रममार्फत सार्वजनिक हुदै हुनुहुन्छ ।

उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने तयारी छ । शान्तिपूर्ण वार्तामा आउन नमानेपछि आपराधिक समूहका रुपमा चित्रित गर्दै केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गतेबाट विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस !