“केपीले विपी बन्ने सपना नदेखे हुन्छ”–सरकारको विरुद्ध काभ्रेमा प्रदर्शन
- नमोबुद्ध संवाददाता
बनेपा–नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले नेकपालाई रोज्नु जनताको गल्ती भएको बताउनुभएको छ । सरकारको कामकारबाही चित्तबुझ्दो नभएको भन्दै यसको विरोधमा सोमबार काभ्रेको बनेपामा भएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“२०७४ को चुनावमा नेकपालाई भोट दिएर जनताले गल्ती गरे,आज त्यो सावित भइसक्यो ।”
२००७ सालमा जहाँनीय क्रुर राणशासनको अन्त्यदेखी,पञ्चायती व्यवस्था र निरंकुश राजा फाल्न नेतृत्व गरेको काँग्रेसले आज देश हाँक्न नपाएको उहाँको भनाई छ । “हाम्रै नेतृत्वमा जनतालाई अधिकार सम्पन्न बनाउन २०७२ मा संविधान जारी गर्यौं तर आज नेकपा सरकारले तिनै संविधान कुल्चिने काम गरेको छ,तिनै स्वेच्छचारी प्रवित्ति,अकर्मण्यताका विरुद्ध देशभर प्रदर्शनमा उत्रेका हौं ।”,काँग्रेस पूर्व केन्द्रिय उपसभापति एवं पूर्व प्रधानमन्त्री श्रेष्ठले भन्नुभयो–“हाम्रो पार्टीले निर्णय गरे अनुसार सदन र सडक संघर्ष थालेका छौं,तपाईहरुले चिन्ता मान्नु पर्दैन,नेकपाको विकल्प अब नेपाली काँग्रेसनै हो ।”
कोरोना नियन्त्रणमा उदासिनता,किसानमाथि ज्यादती,भ्रष्टाचार जस्ता अनैतिक काममा सकारकार लिप्त रहेको उहाँको आरोप छ ।
“केपीले विपी बन्ने सपना नदेखे हुन्छ”
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डेले केपी ओलीको सामन्तवादी प्रवृत्तिले लोकतन्त्रनै धरापमा परेको आरोप लगाउनुभयो । “अधिनायकत्ववादको उदय गराउने चेष्टा भएको छ,राष्ट्रिय अनुसन्धान विभाग,राजश्व,मानवअधिकार आयोग लगायतका क्षेत्र प्रधानमन्त्री कार्यालयतर्फ खिचेर आफूलाई सर्वशत्तिलमान बनाएर जनताको अधिकार खोस्ने काम भएको छ ।”,केपी कहिल्यै विपी हुन नसक्ने दावी गर्दै उहाँले भन्नुभयो–“विपी हुन नैतिकता चाहिन्छ,सदाचारीता चाहिन्छ,जवाफदेहीता चाहिन्छ तर यो केपी सरकारले कोरोना पिडित जनतामाथि क्रुरता प्रदर्शन गरेको छ,किसानलाई मल छैन,भ्रष्टचारी र दलालहरुको संरक्षण गरेको छ,त्यसैले विपी बन्ने दिवा सपना नदेखी हुन्छ ।”
नेता पाण्डेले केपी सरकारले राष्ट्रिय एकताको प्रतिक राष्ट्रपतिलाई समेत विवादमा तान्ने काम गरेको आरोप लगाउनुभयो । तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको ‘प्रहरी नियन्त्रण घटना’ एक व्यक्ति माथि भएको दुरव्यवहार मात्र नभई लोकतन्त्रमाथिको प्रहार भएको उहाँको दावी छ ।
काँग्रेस काभ्रेले गरेको विरोध प्रदर्शन बनेपाको गोदामचोक,चोरदोबाटो हुदै नालदोबाटोमा पुगेर कोणसभामा परिणत भएको हो । कोणसभामा काँग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई,नेता शंखबुद्ध लामा,संविधानसभा सदस्य तिर्थ लामा,कञ्चन वादे,प्रदेश सभा चुनाव २०७४ का उम्मेद्वार गणेश लामा,सिवी लामा,सुन्दरमणी आचार्य,जिल्ला सभापति मधु आचार्य,उपसभापति अच्युत पौडेल,ज्लिा सचिव दिनेश लामा,लगायतका नेताहरुको उपस्थिति थियो । यि नेताहरुको नेतृत्वमा काँग्रेस काभ्रे,काँग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघ,नेपाल महिला संघ,शिक्षक संघ,दलित संघ,तरुण दल आवद्ध कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका हुन् ।