काठमाडौं–नेकपाको कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढ्न थालेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं डाक्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा लगायतलाई नेकपाले छलफलका लाग काठमाडौं बोलाएको हो ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको नेकपा स्रोतले स्पष्ट पारेको छ ।

दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो । उनीहरुलाई काठमाडौं डाकेपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।

नेपाल पक्षका केही सांसदलाई मन्त्री र एकजना सांसदलाई सचेतक बनाउन सहमति भएको थियो । उक्त सहमतिपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका नेता नेपाल निकट सांसद फिर्ता भएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा नेता यामलाल कँडेल ।

प्रतिक्रिया दिनुहोस !