-
नमोबुद्ध संवाददाता,
पाँचखाल–‘कृषि शहर पाँचखाल नगर’को नारा अघि बढाउने,औद्योगिकरणका योजना पनि सुनाउने काभ्रेको पाँचखाल नगरले पछिल्लो समय ‘कृषि शहर’ आत्मसात गरेको उदाहरण दिने भएको छ । आधुनिक शैलीमार्फत पाँचखालमा चक्लाबन्दी तरिकाले खेती गरेर कृषकहरुको आर्थिक समृद्धिका लागि यो कार्यक्रम अघि बढाएको हो ।
यसमा पाँचखाल नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) विच सम्झौता नै भएको छ । हालै नगर कार्यालयमा भएको बृहत छलफलबाट पाँचखालमा ‘चक्लाबन्दि’ तरिकाले खेती गराएर कृषकलाई आत्म निर्भर बनाउने विषयमा सम्झौता भएको हो ।
पहिलो चरणमा पाँचखालका दूई ठाउँमा चक्लाबन्दी अनुसार खेती हुनेछ । त्यसको लागि जग्गाको सुधार, सिंचाई, कृषि उपकरण साथै गुणस्तरिय बिउ बिजनको लागि नगरपालिका, सुपरजोन तथा कृषक बिचमा त्रिपक्षिय ढंगबाट लगानी गराईने पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । नगरप्रमुख खरेलले पाँचखाल नगरपालिका, सुपरजोन परियोजना, र कृषकहरु समेतले लगानि गरी २ सय रोपनिको दुई स्थानमा खेति गराईने बताउनुभयो ।
‘परम्परागत तरिकाले खेती गर्दा आम्दानि कम खर्च बढि हुने भएकोले कृषकहरु चिन्तित रहेको अवस्थामा आधुनिक ढंगबाट यान्त्रिय कृषि औजारको माध्यमबाट खेति गराउने बिषयमा पाँचखाल नगर कृषको हितको लागि अन्यत्रको बजेट काटेर भएपनि सहलगानी गर्ने छौ ।’–खरेलले भन्नुभयो ।
काभ्रे जिल्ला सुपरजोनका अध्यक्ष एवं पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडाले कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित पाँचखाल नगरमा कृषकको हितको लागि सबै एक जुट भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
पाँचखाल नगरपालिकाका प्रमुख खरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) कार्यालय प्रमुख प्रकाश पौडेल, सुपरजोन जिल्ला अध्यक्ष एबम् पाँचखाल नपा वडा न २ का वडा अध्यक्ष खतिवडा, सुपरजोन कार्यालय काभ्रे प्रमुख कृष्ण धिताल, सूचना अधिकारी बलदेब केसि, पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतको उपस्थितिमा भएको छलफलबाट नगरपालिका यो निचोडमा पुगेको हो ।