जनप्रतिनिधिले मदिरा सेवन गरे दोब्बर कार्वाही गर्ने चेतावनी

  • नमोबुद्ध संवाददाता,

चौंरीदेउराली–काभ्रेको चौंरीदेउराली गाउँपालिकाले ‘मदिरा प्रतिबन्ध कार्यविधि–२०७७’ कार्यन्वयनको लागि भन्दै प्रचार प्रसार तथा सरोकारवालाहरुसँग अन्तरकृया गर्ने योजना अनुसार शनिबार वडा नं. ६ स्थित कात्तिके देउरालीमा अन्तरकृया गरेको छ ।

मदिरा प्रतिबन्ध गर्ने गाउँपालिकाको निर्णयको विषयमा पालिकाले स्थानीय जनता, व्यवसायी, आमा समूह, स्थानीय बुद्धिजीवि तथा सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रम गरेको हो ।

कार्यक्रममा पालिका अध्यक्ष दिननाथ गौतमले व्यवासायिक उद्देश्यले मदिरा ओसार पसार र उत्पादन तथा विक्रि गर्न गाउँपालिकाले पूर्ण रुपमा रोक लगाएको दोहोर्याउँदै विभिन्न जाति, आदिवासी जनजातिहरुको रिती रिवाज, संस्कार र सँस्कृतिलाई कुनै असर नहुने गरी यो कार्यविधि ल्याएको प्रष्ट पार्नुभयो ।

‘गाउँपलिकाले मदिरा प्रतिबन्ध गर्ने कार्यविधिलाई पूर्ण रुपमा लागु गर्नेछौं । कुनैपनि मदिरा ओसार पसार, उत्पादन र विक्रि वितरणमा रोक लगाएका छौं ।’ गौतमले भन्नुभयो, ‘तर आदिवासी जनजाति, विभिन्न जातिको सँस्कर, सँस्कृति र रिती रिवाजलाई असर नपर्ने गरी मदिरा प्रतिबन्ध गर्न खोजेका हौं ।’

उहाँले समाजमा सुसँस्कृतिको विकास, सुशासन, शान्ति सुरक्षा, घरेलु हिंसाको अन्त्य लगायतको उद्देश्य पूर्तिका लागि यो कार्यविधि ल्याउन बाध्य भएको प्रष्ट पार्नुभयो । ‘हामी समाजमा सुसँस्कृतिको विकास गर्न चाहन्छौं । सुशासन, शान्ति सुरक्षा, घरेलु हिंसाको अन्त्य गर्न चाहन्छौं ।’ उहाँले भन्नुभयो, ‘कैयौंले आत्महत्या समेत गर्न बाध्य बनायो, घरमा झैझगडा बढ्यो, अनि धेरै आमा, दिदीबहिनीहरुले प्रतिबन्ध गर्न अनुरोध गरे । त्यसैले प्रतिबन्ध गर्ने अवस्थामा हामी पुगेका हौं ।’

स्थानीय सरोकारवालाहरुको जिज्ञासाको जवाफ दिंदै गाउँपालिका अध्यक्ष गौतमले जनताले चाहे अनुसार स्थानीय सरकार चल्ने र केही मान्छेहरुले गाउँपालिकाको यो कदमलाई आलोचना गरेपनि यो कार्यविधि लागु हुँदै गएपछि आलोचना गर्नेहरु समेत खुशी हुने दावी गर्नुभयो ।

अध्यक्ष गौतमले कुनै पनि जनप्रतिनिधिले मदिरा सेवन गरी सार्वजनिक स्थलमा अवान्छित कार्य गरे अरुलाई भन्दा दोब्बर कार्वाही हुने चेतावनी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमार चौंलागाईं गौतम, वडा अध्यक्ष रेशम चौंलागाईं प्रभा माविका प्रअ क्षितिज सुब्बा लगायत स्थानीय व्यवसायी, बुद्धिजीवि, शिक्षक र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !