बाँकी २२ वटा विद्यालयका विद्यार्थीहरुलाई दशैं लगत्तै वितरण गरिने

  • नमोबुद्ध संवाददाता,

पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
गरिबी निवारणको लागि चाईना फाउण्डेशन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको सहयोग तथा पाँचखाल नगरपालिका, पाँचखाल उद्योग बाणिज्य संघ र व्यवसायी उमेश बाँनियाको पहलमा सोमबार र मंगलबार पाँचखालका १७ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको पाँचखाल नगरपालिका सञ्चार शाखाले जनायो ।

सर्वमंगला मावि, गोल्मादेवी प्रावि, दुग्धेश्वर मावि, नारायणस्थान प्रावि, धरणी प्रावि, जनउद्धार प्रावि, प्रतिभा प्रावि, भमरकोट हिमालयन आधारभूत विद्यालय, सरस्वती प्रावि, सुन्दर सुर्योदय प्रावि, जनजागरण प्रावि, भगवती मावि, कालिदेवि प्रावि, कालिका मावि, श्रृजना प्रावि, बालप्रतिभा प्रावि र समाजकल्याण प्राविका १३ सय ७२ विद्यार्थीलाई ब्यागका साथै शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बक्स, कापी वितरण गरिएको हो ।

पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीका अनुसार पाँचखालमा रहेको ३९ सामुदायिक विद्यालय मध्ये १७ वटालाई मात्र बितरण गरिएको छ । बाँकी रहेको २२ वटा विद्यालयका विद्यार्थीहरुलाई दशैं लगत्तै डकुमेन्ट तयार गरेर वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

गरिबी निवारणको लागि चाईना फाउण्डेशन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले यस अघि २९ जिल्लाका ७५ हजार विद्यार्थीहरुलाई ब्याग बितरण गरिसकेको र यो बर्ष ४० हजार भन्दा बढि विद्यार्थीहरुलाई ब्याग र शैक्षिक सामाग्री वितरण गरिने गरिबी निवारणको लागि चाईना फाउण्डेशनका कार्यक्रम संयोजक कपित नेपालीले बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले विभिन्न जिल्लाका अपाङ्गता भएकाहरुलाई ह्वील चियर, बैशाखी, सेतो छडी, एल्बो लगायतका सामाग्री बितरण गरेको समाजका प्रतिनिधि गौरी दाहालले जानकारी दिनुभयो ।

बितरण पश्चात नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले फाउण्डेशनका कार्यक्रम संयोजक नेपाली र समाजका प्रतिनिधि दाहाललाई मायाको चिनो हस्तान्तरण गनुभयो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले शिक्षा क्षेत्रमा भएको सहयोगले उर्जा र उत्साह थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !