जो सहरा विहिन थिए
-
नमोबुद्ध संवाददाता,
धुलिखेल–गत साउन ३० गते शुक्रबार,मिर्मिरे उज्योलो घामको किरण झुल्कीन नपाउँदै सिन्धुपाल्चोकको जुगल गाउँपालिका–०२ लिदीबासीका लागि कहालीलाग्दो बनेर आयो त्यो झिस्मिसे विहानी ।
पहिरोले त्यहाँका सिंगो तामाङ बस्ती बगायो,३९ भन्दा बढिको देहलिला समाप्त भयो । त्यो त्रासदिपूर्ण समयका साक्षी थिए ५ वर्षिय आइत दोङ,उनीजस्तै कैयौं बालबालिकाहरु । जसले बस्ने घरदेखी आफ्ना बुबाआमा,नजिकका आफन्तजन गुमाए ।
सहरा विहिन बनेका यी बालबालिकाहरुले शनिबार अभिभावक पाएका छन् । असोज ५ गते काभ्रेको पनौती नगरपालिका–५ स्थित एसओएस वालग्रामको सम्पर्कमा आएका आइत दोङका साथमा ४ वर्षीय भूमिका गौतम, ६ वर्षीय मेम्बा लामा दोङ, १० वर्षिय सुकबहादुर दोङ,७ वर्षिय विवेक विक, ४ वर्षिय टेकबहादुर श्रेष्ठ, १० वर्षिय टिकालाल दोङ, १२ वर्षिय पेम्बा दोङ र दुर्गा दोङ,११ वर्षिय रेखबहादुर दोङले नयाँ अभिभावक पाएका हुन् ।
उनीहरुको शिक्षादिक्षाको जिम्मेवारी लिनुभएको हो संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज),पूर्व राज्य मन्त्री तथा नेकपा वागमती प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ (लालध्वज) देखी व्यवसायी समाजसेवीसम्मले ।
अन्तराष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मीता वाईबा,नेपाल तामाङ घेदुङ वागमती प्रदेश सचिव हरिचन्द्र लामा,आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् काभ्रेका बरिष्ठ उपाध्यक्ष विकास लामा, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष फुर्साङ तामाङ, धुलिखेल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाईबा लामा, नेकपा काभ्रे जिल्ला सदस्य तथा समाजसेवी दिलिप घिसिङ,आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धुलिखेलका अध्यक्ष शर्मिला थिङ जस्ता मनकारी व्यक्तित्वहरु यी वालवालिकाहरुको अभिभावक बन्नुभएको छ ।
यी अभिभावकहरु अब यीनै वालवालिकाहरुको जन्मदिन,विद्यालयको कार्यक्रम,चाडबाड,यीनिहरुलाई साह्रोगाह्रो पर्दा वालग्राममा पुग्नेछन् र अझ नजिकबाट यीनिहरुको सुखदुखमा साथमै हुनेछन् दशकौंदेखी यस्तै वालवालिकाहरुको स्याहारसुसार गर्दै आएका यहाँ आमाहरु । जसले चौविसैघण्टा यीनिहरुको रेखदेख गर्नेछन् ।
यी मनकारीहरुले १० वर्षसम्मको लागि पढाई खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको समन्वयकर्ता अस्मिता वाईबाले बताउनुभयो । अभिभावक गुमाएका वालवालिकाहरुले अभिभावको अभाव अनुभूति गर्न नपरोस् भनि यस्तो सहयोग गरेको उहाँको भनाई छ ।
यस्तै सहाराबिहिन वालवालिकालाई सहयोगको लागि स्थानीय समाजसेवी खाईबा लामाले निरन्तर समन्वय गर्दै आउनुभएको छ । धुलिखेल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्य पनि एसओएस वालग्राम काभ्रे स्थापनादेखीनै साथमा हुनुहुन्छ ।
लिदि पहिरो पिडित वालवालिकाको अभिभावकत्व ग्रहण गरेका व्यक्तित्वहरुले अभिभावकको बढि महत्व अभिभावक गुमाएकाहरुले बुझ्नै बताउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले वालवालिकाको भविष्य निर्माणमा सहयोगी हातहरुहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
नेपाल तामाङ घेदुङ बाग्मती प्रदेशका सहसचिव तथा लिदिका समाजसेवी फूलकाजी स्याङबोले अभिभावक गुमाएका आफ्ना गाउँका वालवलिकाले अभिभावक पाएकोमा खुसी व्यक्त गर्नुभयो । पहिरोको क्षति अनुगमनमा पुगेका राजनीतिक दलका नेता,सांसददेखी सभामुख अग्नी सापकोटा सम्मलाई यी वालवालिकाको पुर्नस्थापनामा सहयोग गर्न गुहार मागेको स्मरण गर्दै उहाँले आज काभ्रे घेदुङको पहलले त्यो गुहारको सम्बोधन भएकोमा खुसी व्यक्त गर्नुभएको हो ।
वालग्रामका प्रधानाध्यापक नरेश्वर आचार्यले वालवालिकाको अभिभावकत्व ग्रहण गर्ने सबैलाई धन्यबाद व्यक्त गर्नुभयो ।