-
नमोबुद्ध संवाददाता,
पाँचखाल–सडकका भुस्याहा कुकुरले सडक यात्रुलाई कत्ति आतंकित पार्छ भन्ने त बजार आउजाउ गर्ने प्राय सबैले भोगेका हुन्छन् । कुकुरले टोकेपछि सबैभन्दा बढि मानसिक तनाव रेविज लाग्ला की भन्ने कारण हुन्छ ।
यीनै सन्दर्भमा काभ्रेको पाँचखाल नगरपालिकाले नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले आफ्ना क्षेत्र भित्रका बेवारिसे भुस्याहा कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ । नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो ।
विश्व रेबिज दिवसको अवसर पारेर ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मंगलबारदेखि एक सातासम्म रेबिज विरुद्धको निःशुल्क खोप लगाउन अभियान शुरु गरेको नगरपालिकाले मंगलबार एकै दिन २० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमका अनुसार अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने जानकारी दिनुभयो ।
यही असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने नगर प्रमुख महेश खरेलले बताउनुभयो । नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ यो अभियान थालनी गरेको नगर प्रमुख खरेलको भनाई छ । उहाँले नगरभर छाडा छोडिएका कुकुरलाई संकलन गरेर ल्याएर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिन दिने काम भइरहेको जानकारी दिनुभयो ।