• नमोेबुद्ध संवाददाता,

काठमाडौं–प्रगतिशील लेखक संघको ६९ औँ स्थापना दिवसमा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण गरिएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा सोमबार वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ भर्चुअल माध्यमबाट स्थापना दिवस समेत मनाईएको हो ।

पुरस्कार चयन प्रक्रिया तथा पुरस्कृत प्रतिभा अधिकारीको बारेमा केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले मन्तव्य राख्नुभयो । प्रमुख अतिथि मैनालीले साहित्यकार वासुदेव अधिकारीलाई दश हजार नगद र सम्मानपत्र प्रदान गरिएको घोषणा गर्नुभयो ।

प्रमुख अतिथि मैनालीले नेपाललाई चिनेर लेख्न साहित्य रचना गर्न प्रगतिशील लेखक तथा साहित्यकारसित आग्रह गर्नुभयो । लामो समयदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता संवेदनशील रहिरहेकाले यहाँको राजनीतिक परिवर्तनबाट सार्थक परिणाम हासिल हुन नसकेको उहाँको दावी थियो । यही कारणले नेपालका राजनीतिक परिवर्तन वैदेशिक हस्तक्षेपसहितको हुने गरेको उहाँको ठहर थियो । यस खालको वास्तविकतालाई मध्यनजर गरेर कलम चलाउन उहाँले आग्रह गर्नुभएको हो ।

विशिष्ट अतिथि पूर्वमन्त्री तथा प्रलेसका सल्लाहकार शान्ता मानवीले प्रगतिशील संस्कारयुक्त समाज निर्माणका लागि प्रगतिशील साहित्यले लगातार भूमिका खेल्दै आइरहेको बताउनुभयो । अहिलेसम्म रचना गरिएका प्रगतिशील साहित्यलाई जनताको बस्ती बस्तीमा पुर्याउन प्रगतिशील लेखक संघले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भएको कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मातृका पोख्रेलले प्रलेसको इतिहास र प्रलेस प्रतिभा पुरस्कारबारे मन्तव्य राख्नुभएको थियो ।

केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले “म लङमार्चाामा निस्कन्छु” र पुरस्कृत साहित्यकार वासुदेव अधिकारीले “बस्तीमा आगो” कविता सङ्ग्रहभित्रको एउटा कविता वाचन गर्नुभएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनले “मन त नेपाली” हो शीर्षकको गीत गाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !