-
नमोबुद्ध संवाददाता,
तेमाल–स्थानीयको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले काभ्रेको तेमाल गाउँपालिका ०२ चुखामा ‘सिस्नु पाउडर प्रशोधन’ सम्बन्धी दुई दिने तालिम पालिका उपाध्यक्ष दुर्गामाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
तेमाल गाउँपालिका,युएनडिपिको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेको साझेदारीमा स्थानीय मिलिजुली कृषक समुहले आयोजना गरेको तालिममा सहभागिहरुलाई सोमबार प्रमुख अतिथि पालिका उपाध्यक्ष तामाङले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध तेमालको निर्माणमा स्थानीयको आर्थिक पाटोको महत्वपूर्ण भुमिका रहेकोले यसका लागि सिकेको सीप व्यवहारिक रुपमा कार्यन्वयन गर्न आग्रह गर्नुभयो । यो तालिमपछि सिस्नु पाउडर प्रशोधन कार्य गर्न सकिएमा स्थानीयको आम्दानीको दायरा फराकिलो हुने उहाँको विश्वास छ ।
“हिजो गरिवको चुलोचौकामा मात्रै पाक्ने सिस्नु आज सबैले स्वीकार गर्ने स्थिती छ,यसमा औषधिय गुण भएकोले पनि सबैको ध्यान तानेको छ ।”,पालिका उपाध्यक्ष तामाङले भन्नुभयो–“महिला उद्यमशीलताका लागि संकलन केन्द्र निर्माणदेखी बजारकिरणसम्म आवश्यक छ,यसको सुरुवात तेमालको वडा नं. २ बाट हुदैछ,तेमालभरी बिस्तारका लागि हामी सदैव साथ दिन तयार छौं ।”
उपाध्यक्ष तामाङले पालिकाले भौतिक विकास निर्माणका साथै महिला सशक्तिकरण लगायतका विभिन्न आयमुलक सीपमूलक कार्यक्रमहरु जारी राखेको जानकारी दिनुभयोे । उहाँले यसमा साझेदार तथा सहकार्य गर्ने संस्थाहरुप्रति आभार प्रकट गर्नुभयो ।
वडाध्यक्ष तिमाल सि. तामाङले पालिका,दातृ संस्थाहरुको उदार सहयोगप्रति धन्यबाद दिदै वडा पनि साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।
कृषक समुहका अध्यक्ष शिशिर दोङले अब उद्योग दर्ता गरी व्यावसायीक उत्पादन गर्ने योजना रहेको जनाउनुभयो । योजना अनुसार सिस्नु ड्रायर मेसिन,पिस्ने,जोख्ने मेसिन लगायतका औजारहरु व्यवस्थापन भइसकेकोले छिट्टै अग्र्यानिक सिस्नु पाउडर बजारमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष दोङले स्पष्ट पार्नुभयो ।
स्थानीयमा उत्साह
दैनिक खेतीपाति र घरधन्दामा सिमित कृषक तथा महिलाहरुलाई यो तालिमले उत्साह जगाएको छ । “कता कता सुनेको मात्रै थिएँ,आफैं सहभागि हुन पाएँ,सिस्नु पाउडर प्रशोधन गरी बेच्दा पैसा कमाउनेरछ ।”–तालिममा सहभागि बोइमो तामाङले प्रतिक्रिया व्यक्त गर्नुभयो ।
तरकारी बाहेक अन्य पेशा व्यवसाय नगरेपनि अब सिस्नुको महत्व पनि थाहा भएकोले यसबाट आम्दानी लिन सकिने सम्भावना प्रष्ट देखिएको सहभागिहरुको भनाई छ ।
शान्ति जनआदर्श सेवा केन्द्रका कार्यक्रम संयोजक कमल लामाले तालिम फलदायी भएको बताउनुभयो । तालिमका प्रशिक्षक सञ्चित आलेमगरले यसलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
तालिमको सहजिकरण गरेका स्किल नेपालका फिल्ड निरीक्षक डम्बर थापामगरले गाउँघरमै पाईने सिस्नु आम्दानीको स्रोत बनाउने प्रतिवद्धता स्थानीयहरुमा पलाएकोमा खुसी व्यक्त गर्नुभयो ।
सिस्नु मुटुरोग, दम,हाड जोर्नी, बाथ रोगका बिरामिहरुका लागि औषधितुल्य हुने भएकोले नेपालमा यसको माग अनुसार आपूर्ति हुन सकेको छैन । बजारको सम्भावना देखेपछि यहाँका स्थानीय सिस्नु पाउडर उत्पादनप्रति आकर्षित हुने पक्कापक्की भएको छ । सिस्नु पाउडरको मुल्य बजारमा गुणस्तरको आधारमा प्रति किलो पाँच सय देखि दुई हजार रुपैयाँसम्म रहेको बताईन्छ ।
शान्ति जनआदर्श सेवा केन्द्रका सचिव राजेन्द्र प्रसाद अधिकारीले दुर्लभ व्यवासायिक सीपमुलक तालिमहरु मध्ये सिस्नुको पाउडर प्रशोधन तालिम जिल्लामै पहिलो पटक तेमालमा सम्पन्न भएको दावी गर्नुभयो ।
कोरोना भाइरस संक्रमणको अवस्था नहटेकोले भौतिक दुरी कायम राख्दै मास्क र सेनिटइजरको प्रयोग अनिवार्य गराएर सञ्चालन गरिएको तालिममा २५ जना स्थानीय सहभागि थिए । समापन समारोहमा वडा सदस्य डिल्लीमान दोङ,पार्वती श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि उपस्थित थिए ।