-
नमोबुद्ध संवाददाता,
सिन्धुपाल्चोक–नेपालका साथै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका महिलाहरुको संगठन गर्ल्स पावर टिमले कोरोना कहरका बेला पीडितहरुको सहारा बन्ने अभियान चलाईरहेको छ ।
नोवल कोरोना भाइरस(कोभिड १९)को महामारी नियन्त्रणको सारथी बन्न मास्क संकलन अभियान चलाईरहेको बेला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको नागपुगे,भिमखर्क र च्याङसारमा पहिरोले बस्तीनै बगायो,कैयौंको ज्यान गयो,दर्जनौं स्थानिय बेसहारा भए,आफन्त र घरबार गुमाएर ।
यो खबर थाहा पाएका गर्ल्स पावर टिम हालै ती बस्तीमाझ पुगेर महिला तथा बालबालिकाहरुको समस्यामा राहत दिन पुग्यो ।
महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर उनीहरुलाई आवश्यक विभिन्न सामाग्रीहरु वितरण गरिएको टर्कीबाट गर्ल्स पावर टिमका एक अभियन्ता सविना श्रेष्ठले जानकारी दिनुभयो ।
टिमका काभ्रे संयोजक शर्मिला तामाङ,काठमाडौं संयोजक किशोरी लामा,सिन्धुपाल्चोक संयोजक सिम्रन मोक्तान लगायतको टिमले यहाँका महिलाहरुका लागि महिनावारीको समयमा प्रयोग गर्ने प्याड २१० थान,सुत्केरी महिलाहरुका लागि पेडेक्स प्याड, बालबालिका तथा बिशोरकिशोरीहरुको लागि भित्रि कपडा १३२ थान, बाहिर प्रयोग गर्ने कपडा सेट ५९ थान,आमाहरुका लागि पस्मिना,महिलाहरुका लागि भित्री र बाहिरी वस्त्र,स्याम्पु,साबुन,मास्क लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
टिममा आबद्ध महिलाहरु र अन्य सहयोगीहरुबाट संकलित सहयोग रकमबाट यी सामाग्रीहरु हस्तान्तरण गरिएको टर्कीबाट श्रेष्ठले जनाउनुभयो ।
उहाँका अनुसार यो टिमले बढी कोरोना महामारी फैलिरहेका जिल्लाहरुमा अब छिट्टै मास्क वितरण गर्ने तयारी गरिरहेको छ ।
गर्ल्स पावर टिममा प्रतिमा थापा (पोल्यान्ड),मिरा राई (फ्रान्स),सुस्मा लामा,(नेदरल्यान्ड),सोनिका लामा (कुबेत),सबिना श्रेष्ठ (टर्की), लछी तामाङ (युएसए) प्रवासबाट भुमिका खेल्ने बिशेष ब्यक्तिहरु हुनुहुन्छ । त्यस्तै नेपाल बाट अनिता लिम्बू (झापा) जस्मिन राई (धरान) को विशेष सक्रियता रहेको छ ।
महिला सशक्तिकरणमा सारथी बन्ने यो टिमको मुख्य उद्देश्य हो ।