• नमोबुद्ध संवाददाता :

काठमाडौं-

कला, साहित्य र रंगमञ्चमार्फत स्थानियताको खोजी गर्ने ध्येयले शुरु गरिएको स्रष्टाहरुको अभियान जेसुमले मानव सेवा आश्रमलाई सघाएको छ । जेसुम अभियानकी संयोजक तथा कवि अनिता लामाको पहलमा विभिन्न स्रष्टाहरुको तर्फबाट जम्मा भएको ५१ हजार ५ सय रुपैंया सहित आश्रममा पुगेका स्रष्टाहरुले आर्थिक सहयोगसँगै साहित्यिक रचना बाचन समेत गरेका हुन् ।

विभिन्न साहित्यकारहरुबाट उठेको ५१ हजार ५ सय रुपैंया जेसुम कला अभियानको तर्फबाट कवि स्नेह सायमी र संयोजक लामाले आश्रमका सुमन बर्तौलालाई हस्तान्तरण गरे ।

लकडाउनको लगभग साढे दुई महिना सडकमा सवारी साधन गुडेनन् । पसलहरु बन्द भए । निम्न आयका मजदुरदेखि अस्पतालका विरामीसम्म मारमा पारे । यस्तो बेला मानव सेवा आश्रमका स्वयंसेवकहरु तातो दाल, भात र तरकारी बोकेर सडक र अस्पतालहरु पुगे ।

आश्रमले लक डाउन सहज नभइन्जेल भक्तपुर अस्पताल, ठिमी चोक र सुर्य विनायक चोकमा विहान र बेलुका खाना खुवाउने अभियान चलायो । यो अभियानबाट प्रभावित भएर आफूहरुले आश्रमलाई सघाएको लामाले बताइन् ।

‘कोरोना कहरको निकै अफ्ठयारो समय विपन्नलाई सडक र अस्पतालमै पुगेर सघाएको कार्यबाट प्रभावित भएर आफूहरुले व्यक्तिगत रुपमा आश्रमलाई सघाएको’ लामाले भनिन् । सायमी र लामासँगै आश्रमका लागि साहित्यकारहरु झमक घिमिरे, वासुदेव अधिकारी, प्राज्ञ देवी नेपाल, अजितमान तामाङ, शशी लमुम्बु, विना थिङ तामाङ, सुरेश हाचेकाली, जयन्ती स्पन्दन, यशोधा अधिकारी, सगरमाथा आरोही रोजिता बुद्धाचार्य, चित्रकारहरु दिपेन्द्र बनेपाली, लालकाजी लामा, विनिता बुद्धाचार्य, बाबु साइँला लगायतले आश्रमका लागि सहयोग उपलब्ध गराएका थिए ।

सहयोग हस्तान्तरणपछि आश्रममा रहेका बेसहारामाझ स्रष्टाहरुले गीत, कविता र रोचक प्रसंगहरु साझा गरेका थिए । ‘महामारी र पीडाको बेला मनोसामाजिक परामर्शका लागि पनि साहित्य र कलाले काम गर्छ’, आनी छोइङ डोल्माको गीत प्रस्तुत गर्दै कवि लामाले भनिन् ।

मानव सेवा आश्रमले मुलुकभर विभिन्न १४ वटा जिल्लामा १७ वटा असहाय केन्द्र संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !