
-
नमोबुद्ध संवाददाता
काठमाण्डौं–सङ्गीतकार अशोककुमार राई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हुन् । नेपाली सुगम सङ्गीतका क्षेत्रमा छुट्टै ख्याति कमाएका सङ्गीतकार राई आफ्नो विज्ञता अनुसार प्रज्ञा प्रतिष्ठानमा संगीत विभाग प्रमुखकको जिम्मेवारी रहनुभएको हालै १ वर्ष पुरा भएको छ ।
प्राज्ञ हुनुअघि उनले लोकप्रिय र चर्चित साङ्गीतिक समूह अन्तराका नेतृत्व गर्दै यस समूहमार्फत् देश तथा विदेशमा थुप्रै साङ्गीतिक प्रस्तुति दिइरहन्थे । सङ्गीत सृजना, सङ्गीत संयोजन र प्रस्तुतिमा व्यस्त भइरहने राई प्राज्ञ भएपछि प्रज्ञा–प्रतिष्ठानप्रतिनै समर्पित देखिएका छन् ।
प्राज्ञ हुनुअघि उनका योजनाहरू के के थिए र के के पुरा भए ? राई भन्छन् “मैले यसबिचमा आफूले सम्हालेको विभागबाट केही तर महत्वपूर्ण कार्यक्रमहरू गरेँ । जसले नेपाली सङ्गीतको इतिहासमा विशेष महत्व राख्दछ भन्ने मलाई लाग्छ ।”
उनको विभागबाट २०७५ साल बैशाख १८ र १९ गते प्रदेश नम्बर एकको इटहरीमा सङ्गीत विमर्शसहित दुई दिने भव्य बुहभाषिक सङ्गीत महोत्सवको आयोजना ग¥यो । यसै गरी २०७६ साल असार ४ र ५ गते सुदूरपश्चि प्रदेशको धनगढीमा सङ्गीत विमर्शसहित दुई दिन नै राष्ट्रिय सङ्गीत उत्सवको आयोजना ग¥यो भने काठमाडौँमा सङ्गीतकार संघसँगको सहकार्यमा सङ्गीत विमर्श ग¥यो ।
असोज २ गते संविधान दिवस तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्राज्ञ राईकै संयोजनमा राष्ट्रिय नाचघरमा ‘सारङ्गीमा देश’ शीर्षकमा नेपाली लोकबाजा सारङ्गीको आर्केष्टा प्रस्तुत गरिएको थियो । जुन सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको इतिहासमा मात्रै होइन नेपाली सङ्गीतको इतिहासमै पहिलो नेपाली मौलिक लोकबाजाहरूको आर्केष्टा थियो ।
सङ्गीत विभागकै संयोजन तथा आयोजनामा मंसिर २० र २१ गते गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकीका धुनहरू’ शीर्षकमा सङ्गीत विमर्शका साथै साङ्गीतिक उत्सवको आयोजना भयो । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा नेपाली मौलिक लोकबाजाहरूको धुन ‘हाम्रो बाजाः हाम्रै धुन’ साङ्गीतिक उत्सवको आयोजना गरिएको थियो ।
प्राज्ञ अशोक राईले प्रज्ञा–प्रतिष्ठानबाहिरका कार्यक्रमहरूको पनि कुशल संयोजन गरेका छन् । माघ १७ गते प्रज्ञा भवनमा ताप्लेजुङ सेवा समाज, काठमाडौँले आयोजना गरेको साङ्गीतिक साँझ उनकै संयोजनमा सम्पन्न भएको थियो ।
यस लगत्तै माघ २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठान र मदन भण्डारी कला साहित्य प्रतिष्ठानको सहकार्य रहेको ‘सारङ्गी साँझ’को पनि उनैले संयोजन गरेका थिए । जुन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल, वरिष्ठ नेता, मन्त्री, सांसद र अन्य नेताहरूका साथै राष्ट्रिय सञ्चारगृहका सम्पादकहरूले अवलोकन गरेका थिए ।
भावी कार्ययोजनाः
फागुन २४ गते नेपालका मौलिक लोकबाजाहरूको आर्केष्टा कसरी तयार पार्न सकिन्छ भनेर काठमाडौँमा आर्केष्टा तयारी गोष्ठी, चैत्रको दोस्रो हप्ता कीर्तिपुरमा कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा बाग्मती प्रदेशका लोपोन्मुख लोकबाजाहरूको प्रदर्शनी तथा प्रस्तुति र चैत्रमा काठमाडौँमा राष्ट्रिय सङ्गीत महोत्सव आयोजनाको तयारी गरिरहेको प्राज्ञ राईले सुनाए ।
यसरी नै फागुनको दोस्रो साता बुटबलमा पाँच नम्बर प्रदेश स्थापना दिवसको अवसरमा आयोजना हुने प्रदेश ५ एक्सपो २०७६ मा साँस्कृतिक कार्यक्रमको प्राविधिक सहकार्यको
जिम्मेवारी पनि उनैले पाएका छन् । यसका साथै प्रज्ञा–प्रतिष्ठानमा आफूले सम्हालेको विभागबाट अध्ययन, अनुसन्धानका कामहरू पनि भइरहेको प्राज्ञ राईले जानकारी गराए ।