
न्यानो कपडा वितरण गरेसँगै पठनपाठनमा सहज,
-
नमोबुद्ध संवाददाता :
भोजपुर–चिसो मौसममा बालबालिकाहरुको स्वास्थ्य तथा शिक्षालाई मध्यनजर राखी भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियान थालेको छ । जाडोका कारण विद्यालयमा पठनपाठनमा समस्या उत्पन्न भएपछि गाउँपालिकाले उच्च पहाडी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण थालेको हो ।
यसैक्रममा आइतबार पौवादुङमा–१ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका ४६२ जना र तिवारीभञ्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
यो अभियनाबाट अब छिट्टै पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालय लगायत अन्य ७ विद्यालयका विद्यार्थीहरु पनि लाभान्वित हुदैछन् ।
गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन गर्ने क्रममा यसखाले अभियानले सघाउ पुग्ने बताउनुभयो । अध्यक्ष राईले जाडोका कारण विद्यार्थीहरु प्रभावित नहोऊन् भनेर न्यानो कपडा वितरण गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो –‘यस कार्यक्रमबाट शैक्षिक गुणस्तरमा केहि न केहि भुमिका खेल्नेमा विश्वस्त छु ।’ उहाँका अनुसार यसअघि विद्यार्थीहरुका लागि दिवा खाजाको कार्यक्रम पनि गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष सम्झना राईले नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरेको बताउनुभयो । यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण बन्ने उहाँको भनाई छ ।
उपाध्यक्ष राईले डाटा हेर्दा चिसोको कारण करिब ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआएको पाइएको र अब त्यस्तो नहुने दावी गर्नुभयो । विद्यालयका प्रधानाध्यपक तीर्थप्रसाद खनालले गाउँपालिकाले न्यानो कपडा वितरण गरेसँगै पठनपाठनमा सहज भएको बताउनुभयो ।