नमोबुद्ध संवाददाता

धुलिखेल–सत्तारुढ दल नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारी क्षेत्र अन्तरगत पर्ने महाभारत गाउँपालिका जाने तय भएको छ ।

उहाँ गाउँपालिकाको बनखुचौरको देवीटारमा आउने माघ ६ गते सोमबार साक्षर गाउँपालिका घोषणा तथा पालिका भवन उद्घाटन गर्न जानुहुने भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

पालिकाका १५ देखी ६० वर्ष उमेर समुहका समेत ९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएकोले पालिकालाई प्रचण्डद्धारा साक्षर पालिका घोषणा गर्न लागिएको हो ।

कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा विशेष अतिथिको रुपमा सहभागि हुनुहुनेछ ।

सोनाम ल्होछारको छेकोमा हुन लागेको उक्त औपचारिक कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा चर्चित कलाकारहरु निर्मला घिसिङ, प्रयास दोङ, सरोज मोक्तानका साथमा स्थानीय कलाकारहरुको प्रस्तुती हुनेछ ।

डाँडापारीमा प्रचण्डको दोस्रो यात्रा

भौतिक विकासमा दृष्टिले विकट मानिएको डाँडापारी क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका प्रचण्डको यो दोस्रो पटकको यात्रा हुनेछ ।

स्थानिय जनताको विकासको आवश्यकतालाई मध्यनजर गराउन,तिनमा आवश्यक सम्बोधनमा पहलकदमी लिन दवाव पुग्ने अपेक्षाका साथ गाउँपालिका नेतृत्वले प्रचण्डलाई डाँडापारी लैजाने गरेको हो ।

यसअघि पालिका अध्यक्ष भएलगत्तै दुई वर्षअघिको माघमा प्रचण्डलाई महाभारत घुमाएका जिम्बाले डाँडापारीको समस्यालाई राष्ट्रिय विकासको एजेण्डाको रुपमा अघि सार्न नैतिक दवाव सिर्जना गराउनुभएको थियो ।

जस कारण अहिले डाँडापारी क्षेत्रलाई अँध्यारोबाट मुक्त गराउन राष्ट्रिय विद्युत प्रशारण लाईन जोड्ने प्रकृया सुरु भएको छ भने सडक सञ्जाल निर्माणमा प्रदेश तथा संघीय बजेटले स्थान पाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस !