• नमोबुद्ध संवाददाता

मण्डन देउपुर– झन्डै चार वर्षअघि म्यान्मारकी गायिका सी र गीतकार विन मिन थ्वेले काभ्रेको मण्डनदेउपुर– १ ढाँडागाउँमा सेलोघर बनाउन सघाएका थिए । यी दुईलाई नगरकोटमुनिको यो गाउँसम्म डोहोर्याउने काम गरेका थिए म्यान्मारकै सहयोगी सागर घिमिरेले ।

चार वर्षपछि मंगलबार सेलोघरमा पुग्दा घिमिरेले त्यतिबेला ताम्बा नृत्यसहित स्वागत पाएको क्षण सम्झे । घिमिरेलाई पर्खिबसेका थिए उनै ताम्बा (तामाङ गीतविज्ञ) वीरमान वाइबा । ‘तपाईंहरूले हाम्रो संस्कृति जोगाउने थलो बनाइदिनुभयो, हामी कहिल्यै बिर्सिनेछैनौं,’ वाइबाले भावुक हुदै भने ।

म्यान्मार (बर्मा) बाट आएकी समाजसेवी गोमा घिमिरेले गाउँका अपांगहरुका लागि न्यानो कपडा वितरण गर्न उप मेयर निर्मला शाहीलाई आर्थिक सहयोग हस्तारण गर्दै ।

यही कार्यका लागि घिमिरेले मण्डनदेउपुर नगरपालिकाका तर्फबाट सम्मान पाए । उपमेयर निर्मला शाही र वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले घिमिरेलाई सम्मानपत्र हस्तान्तरण गरे । सेलोघर बनाउन नेपालबाट संयोजन गर्ने संस्था नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरे पनि सम्मानित भए ।

आफूहरूले म्यान्मारमा नेपाली भाषा–साहित्य प्रवद्र्धनका लागि ३ सय वटा भाषा स्कुल निर्माण गरी ३ महिने कक्षा चलाइरहेको समेत सुनाउदै सागर घिमिरेले गायिका सी र गीतकार विन मिन थ्वेको तर्फबाट पनि शुभकामना सुनाए ।

म्यान्मारबाटै आएका साहित्यकार ज्ञान बहादुर बगाले थापाले ‘अधिकार’ शीर्षकको कविता सुनाउदै पछिल्लो नेपाली राजनीति र प्रवासी मनोविज्ञान प्रस्तुत गरे । नगर उपप्रमुख शाहीले ‘सेलोघरकै साइनोका कारण म्यान्मारसँग सम्बन्ध जोडिएको’ बताउदै सांस्कृतिक आदानप्रदानमा आफूहरू तयार रहेको बताइन् । उनले सेलोघर स्थानिय समुदायका लागि अति उपयोगी बनेको बताउदै म्यान्मारका सहयोगीहरुले धन्यवाद समेत दिइन् ।

सेलोघर बनाउन पहल गर्ने म्यान्मार (बर्मा)का समाजसेवी सागर घिमिरेलाई नगरपालिकाको तर्फबाट सम्मान गर्दै उप मेयर निर्मला शाही ।

नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका महासचिव तुलसी ज्ञवाली, कोषाध्यक्ष पिटर खरेल, सहयोगीहरू युगनारायण पोखरेल, गोमा घिमिरे, चन्द्रादेवी पोखरेललगायतले सेलोघरको प्रशंसा गरे । म्यान्मारबाटै आएकी समाजसेवी गोमा घिमिरेले गाउँका अपांगहरुका लागि न्यानो कपडा वितरण गर्न ११ हजार रुपैंया र चन्द्रादेवी पोखरेलले ५ हजार रुपैंया सहयोग समेत गरे । विभिन्न स्थानीय सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सेलोघर उपयोग भइरहेको सेलोघरका उपाध्यक्ष विकिराम तामाङले बताए । स्थानिय लालबहादुर तामाङले पनि सेलोघरकै कारण गाउलेहरुलाई सामुदायिक कार्यका लागि सजिलो भएको बताए ।

सेलोघर बनाउन संयोजन गर्ने संस्था नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलका पदाधिकारी र मण्डनदेउपुर नगरपालिकाका उप–मेयर, वडाअध्यक्ष लगायतसँग सागर घिमिरे ।
सेलोघर बनाउन पहल गर्ने म्यान्मार (बर्मा)का समाजसेवी सागर घिमिरेलाई नगरपालिकाको तर्फबाट सम्मान गर्दै उप मेयर निर्मला शाही ।

प्रतिक्रिया दिनुहोस !