नमोबुद्ध संवाददाता
काठमाडौं–अमेरिका भ्रमणमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको सम्मानमा क्यालिफोर्नियामा नागरिक अभिनन्दन समारोह एवम् साहित्यिक समारोहको आयोजना गरिएको छ ।
अनेसास क्यालिफोर्निया र नेपाल एसोसियशन फर ग्लोवल कोअपरेसन क्यालिफोर्नियाको संयुक्त आयोजनामा आइतबार क्यालिफोर्नियाको रिच्मण्ड सहरमा नागरिक अभिनन्दन सहितको कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली साहित्य,कला संस्कृतिको उत्थानमा अतुलनिय योगदान दिनुभएको र तिनै क्षेत्रको नेतृत्वदायी भुमिकामा रहनुभएको भन्दै उप्रेतीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
अभिनन्दन तथा सम्मान ग्रहणपछि कुलपति उप्रेतीले नेपालबाहिर रहेर नेपाली भाषा,साहित्य र संस्कृतिको प्रवर्धनमा अनेसास लगायतका संस्थालले पुर्याएको योगदानको सराहना गर्दै उत्तर क्यालिफोर्नियाका विभिन्न ठाउँबाट कर्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
समृद्धिको यात्रामा अघि बढ्दै गरेको नेपाललाई सहयोग पुग्ने गरी हरतरहका गतिबिधि बढाउन अनुरोध गर्दै उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै पर्यटकलाई नेपाल भ्रमणमा पठाउन प्रेरित गर्न अनुरोध गर्नुभयो ।
नेपाल एसोसियसन फर ग्लोवल कोपरेसनका अध्यक्ष मनि नेपाली पनेरू तथा अनेसास क्यालिफोर्नियाका अध्यक्ष सर्वज्ञ वाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोवल कोअपरेसनकी उपाध्यक्ष तथा महिला अभियन्ता हेमा पनेरूबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।
समारोहमा कुलपति उप्रेती कविता सुनाउनुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र बिभागका सदस्य तुलसीप्रसाद उप्रेती समेत सहभागि कार्यक्रममा अन्य एक दर्जन जति स्थानीय कविहरूले पनि सिर्जना बाचन गरे ।