नमोबुद्ध संवाददाता

काठमाडौं–भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले यो पटक दिइने प्रतिभा सम्मान र पुरस्कार घोषणा गरेको छ ।

वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई यस वर्षको ‘भोजपुर प्रतिभा सम्मान’ र युवा गायक भीषण मुकारुङलाई ‘भोजपुर प्रतिभा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली इतिहासका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत नेपाललाई र गायन क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत् मुकारुङलाई सम्मानित तथा पुरस्कृत गरिने निर्णय गरिएको संस्थाका महासचिव नरेश काङमाङ राईले जनाउनुभयो ।

उहाँका अनुसार टोपी, माला, दोसल्ला, सम्मानपत्रका साथै नगद रु. १५ हजार सहितको ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गरिनेछ । साथै पुरस्कारमा टोपी, माला, सम्मानपत्रसहित नगद रु. ३० हजार राशि रहेको छ । सम्मान तथा पुरस्कार आगामी फागुनको तेस्रो साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने महासचिव राईले जानकारी दिनुभयो ।

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायत,बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूले १२ वर्षअघि स्थापना गरेको सेवामुलक संस्था हो ।

प्रतिक्रिया दिनुहोस !