नमोबुद्ध संवाददाता

काठमाडौं–संघीयता खोला नालालाई चाहिने हो र ? सोमबार संघीय राजधानीको माईतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा सहभागि सिन्धुपाल्चोकका पेमा तामाङको प्रश्न हो यो ।

विगतमा तामाङ विद्यार्थी घेदुङसँग आवद्ध उहाँमा यो यस्तो चेत थियोकी व्यवस्था परिवर्तन राज्यका उत्पीडित वर्गको आवाज सम्बोधन गर्ने क्रममा हुन्छ तर नेपालमा व्यवस्थाहरु फेरिए तर यसो भएन ।

यहि निश्कर्षका साथ हजारौं जना सोमबार प्रदर्शनमा उत्रिएका हुन् । ३ नम्बर प्रदेश क्षेत्रभित्रको वहुसंख्यक उत्पीडित आदिवासी जनजाती समुदाय (तामाङ र नेवार) जातिको भावनामाथि फेरि खेलवाड नगर्न चेतावनी दिन आएका थिए उनिहरु ।

३ नम्बर प्रदशेसभाले आफ्नो नाम र राजधानी टुंगो लगाउने कार्यसूचि अघि सार्दै गर्दा भएको प्रदर्शनमा गुञ्जयमान थियो–‘वाग्मती प्रदेश चाहिँदैन,पहिचान मेट्न पाइँदैन। ’

प्रदर्शनमा देखिएका अधिकांश प्लेकार्डमा यहि नारा उल्लेख थियो । प्रदर्शनकारीहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गरेका छन् ।

प्रदेशसभालाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको हालैको बैठकले प्रदेशको नाम वाग्मती राख्न सुझाव दिएपछि नेपाल आदिवासी जनजाति महासंघ,नेवा–ताम्सालिङ समन्वय समिति लगायतका जातिय संस्थाहरुको आह्वानमा विरोध प्रदर्शन भएको हो ।

संविधानको भावना विपरीत सत्तारुढ दलले ह्विप लगाउने आशयका साथ यस खाले सुझाव दिएको र यसमा विपक्षी दलहरुको समेत आन्तरिक मिलेमतो रहेको उनिहरुको आरोप छ ।

“संविधानको ठाडो उलंघन गर्ने गरी प्रदेशसभाको अधिकारमाथि धावा त बोलेको छ नै,समानुपातिक समावेशीता,सामाजिक न्याय र पहिचानको मुद्धालाई लात हान्ने कुचेष्टा गर्दैछ,यो हुनै दिदैनौं ।”–विरोध प्रदर्शनपछि तिनै पेमा लगायतका युवा खबरदारीसाथ छुटिट्ए ।

छुटिट्नै गर्दा ग्रुपका एक युवा भन्दै थिए –“विगतमा हामी जस्ता युवालाई राजनीतिक स्वार्थको लागि ढाल बनाए,अब हामी जस्ता युवा चेतपूर्ण परिवर्तनको संवाहक बन्नुछ ।”

प्रतिक्रिया दिनुहोस !