नमोबुद्ध संवाददाता

काठमाडौं–गीतकार एवम् संस्कृतिकर्मी शुभ मुकारुङ नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत हुनुभएको छ । ‘मैले किन तिमीजस्तो पत्थर हुन नसकेको,सधैँ तिम्रो सम्झनामा पग्लिरहेँ हिउँजस्तो’ बोलको चर्चित गीतका रचनाकार मुकारुङलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो पुरस्कार प्रदान गरेको हो ।

नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोजअन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत उहाँलाई पुरस्कृत गर्नुका साथै प्रयोगवादी धाराका वरिष्ठ स्रष्टा कवि गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान’ दिईएको छ ।

यो पटकको पुरस्कार तथा प्रतिभा सम्मान वितरणका लागि प्रतिष्ठानद्धारा शनिबार राजधानीमा आयोजित औपचारिक समारोहकाबिच पराजुलीलाई सम्मानपत्र,दोसल्ला र नगद २५ हजारबाट समेत सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ बैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्र अर्पण गरी पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील सङ्घसंस्थाले नेपालका रहेका स्रष्टा र नेपालमा क्रियाशील सङ्घसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– “पुरस्कार तथा सम्मानले स्रष्टामा हौसला थप्ने काम गर्छ । कला, साहित्य तथा संस्कृतिको क्षेत्रबाट पनि राष्ट्र निर्माणमा विशिष्ट योगदान पुग्ने भएकाले यो क्षेत्रको महत्वलाई सबैले बुझ्नु जरुरी छ ।”

प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीबृद्धिमा डायास्पोरामा रहेका सङ्घसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको उल्लेख गर्नुभयो

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

पौवादुङमा गाउँपालिका, भोजपुरका अध्यक्ष किरण राईले नेपालको मौलिक कला–संस्कृति तथा अनुपम संस्कृतिको प्रवद्र्धनका लागि स्रष्टाले साहित्य सिर्जना गरेमा मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिभा प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको बताउनुभयो ।

स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गर्नु पनि यस संस्थाको अर्को उद्देश्य रहेअनुसार यसखाले कार्यक्रम गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

गीतकार टीका चाम्लिङले सञ्चालन गर्नुभएको कार्यक्रममा गीतकार सङ्घ, नेपालका अध्यक्ष समेत रहेका गीतकार चुडामणि देवकोटाले पुरस्कृत स्रष्टा गीतकार मुकारुङका बारेमा र कवि तथा समालोचक सुरेश हाचेकालीले सम्मानति कवि पराजुलीका बारेमा सपरिचय व्यक्तित्व प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !