
नमोबुद्ध संवाददाता
धुलिखेल–नेपालमा दिवंगत अस्ट्रेलियन पर्यटकको स्मृतिमा काभ्रेको धुलिखेल ३१ किलोमा ‘अस्ट्रेलिया–नेपाल फ्रेन्डसिप (मैत्रीपूर्ण) पार्क’मैत्रीपूर्ण निर्माण थालिएको छ ।
पार्कको शनिबार एनआरएनए अष्ट्रेलियाका अधिकारीहरुमाझ धुलिखेल नगरपालिकाका प्रमुख(मेयर) अशोक व्यञ्जुले शिलान्यास गर्नुभयो ।
बनेपा हुदै धुलिखेल(अनरनिको राजमार्ग) छेउ बाँयापट्टिको खाली ठाउँमा पार्क निर्माणका लागि सुरुवाती चरणमा एनआरएनएले रु ५ लाख र धुलिखेल नगरपालिकाले रु ५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख व्यञ्जुले जानकारी दिनुभयो ।
दुवै पक्षको सहकार्यमा करीव रु १६ लाखमा एक वर्षभित्र पार्क निर्माण गरिसक्ने उहाँले बताउनुभयो ।
“पर्यटन विकास र सहकार्य भावको यो एउटा नमुना हो,मैत्रीपूर्ण सम्बन्धको उपज हो,आज अष्ट्रेलिया एनआरएनए आए,भोली अरु देशबाट पनि सहकार्य गर्न आउलान्”,नगरप्रमुख व्यञ्जुले भन्नुभयो–“यसरी हामी पार्क अभियानमा छौं,नगरलाई अझ सुन्दर बनाउने र आन्तरिक तथा वाह्य पर्यटकलाई थप आकर्षित गर्ने उद्धेश्यले नै यस्ता कार्यक्रमहरु गरिरहेका छौं ।”
नेपाल भ्रमण वर्ष २०२० लाई अष्ट्रेलिया–नेपाल गौरवमय यात्राको रुपमा लिएको बताउँदै अष्ट्रेलिया एन्आरएनएका अधिकारीहरुले धुलिखेल नगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
यो ठाउँमा जथाभावि लुकिछिपी फोहोर फाल्दा समस्या खेप्दै आएका स्थानिय पनि पार्क बन्ने भएपछि खुसी देखिए ।
“अब यो ठाउँको राम्रो सदुपयोग हुने भो,नगरपालिकाले राम्रो गर्यो ।”–स्थानिय सोनाम तामाङले भन्नुभयो ।