• नमोबुद्ध संवाददाता :

भक्तपुर–प्रिमियर–शोको हप्ता दिन नवित्दै तामाङ चलचित्र ‘छार ग्यालम’ (नयाँ बाटो) शनिबार भक्तपुरको बाराही हलमा प्रदर्शन गरिएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गत सोमबार प्रिमियर शो गरिएको यो चलचित्रलाई भक्तपुरका दर्शकले पनि हेर्न पाएका हुन् ।

पर्याप्त प्रचारप्रसारबिना तत्कालै शो गर्दा पनि दर्शकको माया पाएकोमा भक्तपुर शोको संयोजन गर्नुभएका नायक राहुल मोक्तानले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“तयारीका साथ गर्नुपर्ने शो अझै बाँकी छ,फेरि पनि हामी भक्तपुर अवश्य फर्किनेछौं ।”

निमाता मध्येकी दिपा वाइबाका अनुसार भक्तपुरको शो योजनाअनुसार हैन,यद्यपी अकस्मात जस्तै गरिएको शोमा पनि दर्शकको उपस्थिती राम्रो रहेको प्रतिक्रिया उहाँले दिनुभयो ।

कोशीपारी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘छार ग्यालम’ सकेसम्म सबै हलहरुमा पनि प्रदर्शनको तयारी थाल्ने निमात्री वाइबाले स्पष्ट पार्नुभयो ।

दिपाका साथै पविना तामाङ,बुद्दमाया तामाङ,इन्द्रमाया तामाङ, कुमारी तामाङ लगायतको निर्माण टोली रहेको चलचित्रमा नायक कुमार मोक्तान र नायिका सुनिता लुङ्बा तथा राहुल मोक्तान र संगीता दोङको मुख्य अभिनय छ ।

मनोरञ्जनका साथै तामाङ मौलिक संस्कृतिमा आधारित भनिएको चलचित्रमा  ध्रुव तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइबा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले पनि खेलेका छन् ।

अत्याधुनिक प्रविधि अपनाइएको दावी गरिएको चलचित्र तामाङ र नेपाली(खस) भाषामा तयार पारिएकोले तामाङ बाहेक अन्य समुदायका दर्शकको पहुँचमा समेत पुर्याउन सकिने निर्माण टोलीले जनाएको छ ।

सागर लामा गोलेको प्रस्तुती छार ग्यालाम धन बहादुर तामाङ (सागर) को कथा तथा पटककथामा तयार भएको हो,जुन स्वयम् धनबहादुरलेनै निर्देशन गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !