- नमोबुद्ध संवाददाता :
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहिबार काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो–“नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिन्थ्यौं तर अहिले यो अत्यावश्यक भइसकेको छ , यो हाम्रो आजको जीवनसँग कत्ति निकट भईसक्यो, अब यस्ता प्रविधिको अधिकतम सहि प्रयोग गर्न जरुरी छ ।”
प्रविधिको प्रयोगमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सजिलो हुने प्रधानमन्त्री ओलीको दावी छ ।
प्रधानमन्त्री ओलीले प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्नेमा जोड दिँदै वर्तमान समयमा प्रविधि नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रूपमा प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भन्नुभयो –‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रूपमा प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो ।’
यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्ने बताउनुहुदै उहाँले अब उत्पादनसँग जोडेर यसको प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।