• नमोबुद्ध संवाददाता :

काठमाडौं– दिर्घसेवा पश्चात अनिवार्य अवकाश पाउनुभएका नेपाल प्रज्ञा–प्रतिष्ठानका सङ्गीत उपनिर्देशक कलाकार केशव सुनामलाई बुधबार एक समारोहका बिच स–सम्मान बिदाई गरिएको छ ।

प्रतिष्ठानमा उनान्चालीस वर्षसम्म सेवा गर्नुभएका सङ्गीत उपनिर्देशक सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा. जगमान गुरुङले अबिरको टीका लगाइ फूलमाला र खादा ओढाई स–सम्मान बिदाई गर्नुभएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सङ्गठनका तर्फबाट प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा कुशलतापूर्वक प्रज्ञा–प्रतिष्ठानको दीर्घसेवा गरेकोमा सुनामको योगदानलाई कदर गरि सम्मान समेत गरिएको प्राज्ञ शशी लुमुम्बूले जानकारी दिनुभयो ।

कुलपति उप्रेतीले सुनामको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले सुनामलाई मृदुभाषी, मिलनसार र कर्तव्यपरायणका साथै प्रतिभाशाली कलाकार भन्दै उहाँको कार्यकाल अत्यन्त सन्तोषजनक रहेको बताउनुभयो ।

कर्मचारी परिवारका तर्फबाट सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सुनामका सुकार्यहरूबारे प्रकाश पार्नुभयो । बिदाई ग्रहण गर्दै कार्यक्रममा सुनामले राष्ट्रका प्राज्ञिक व्यक्तित्वहरूसँग काम गर्न पाउँदा आफू धन्य भएको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. गोपिन्द्र पौडेल, माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

यसै गरी प्रशासन प्रमुख सुमन अधिकारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडी, का.मु. आर्थिक महाशाखा प्रमुख चित्रा ठकुरी, नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोककुमार चौरसिया, राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्की,बुद्धि तिमल्सिना लगायत उपप्रमुख, अधिकृत एवम् समस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले सुनामको आगामी जीवन स्वस्थ,सवल र सफल होस् भन्ने कामना पनि गरे ।  भ्वाइलिन, किबोर्ड एवम् हार्मोनियम वादक सुनाम २०३७ सालमा प्रज्ञा–प्रतिष्ठानमा कलाकारका रुपमा सेवा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !