• नमोबुद्ध संवाददाता :

काठमाडौं–तामाङ कथानक चलचित्र ‘छार ग्यालम’ को सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर शो गरिएसँगै निर्माण टोली हौसिएको छ ।

नेपाली काँगेसका नेता तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा चलचित्रकर्मी,बुद्धिजीवि,पत्रकार तथा दर्शकमाझ प्रिमियर शो गरेका निर्माण टोली बलियो तयारीका साथ आम दर्शकसामु जाने सोचमा पुगेको हो ।

कोशीपारी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘छार ग्यालम’ ले एकै दिन झण्डै हजार दर्शकको माया पाएपछि अब छिट्टै अन्य हलहरुमा पनि प्रदर्शन गर्ने मनस्थिती बसेको मुख्य निमात्री दिपा वाइबाले बताउनुभयो ।

उहाँले भन्नुभयो–“सोचे जस्तै चाँहि अलि भएन,शनिबार अथवा सार्वजनिक विदा नभए पनि यत्तिको दर्शक सहभागि हुनु राम्रो हो,त्यसैले खुसीनै छौं,अब तयारीका साथ सकेसम्म सबै ठाउँमा प्रदर्शन गर्ने सोचमा छौं ।”

कहिलेदेखी आम दर्शकमाझ आउने भन्नेबारेमा डेट फिक्स भईनसकेता पनि ‘छार ग्यालम’लाई च्यारिटी तथा एक÷दुई शोमा सिमीत राख्ने पक्षमा निर्माण टोली नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार टिममा छलफल भएपछि यो चलचित्र सबै तामाङ दर्शकहरुले हेर्न पाउने गरी छिट्टै प्रदर्शनमा ल्याईने छ ।

लगानीका दृष्टिले तामाङ चलचित्र जगतमा अहिलेसम्मकै ठुलो धनराशी खर्चिएको जानकारी दिदै निर्मात्री वाईबाले खर्चअनुसार परिणाम पनि राम्रै देखिने बिश्वास व्यक्त गर्नुभयो । गतिलो स्कृप्ट,कलकारलाई सम्मानजनक पारिश्रमिक र अत्याधुनिक प्रविधि अपनाइएको चलचित्र तामाङ र नेपाली(खस) भाषामा तयार पारिएकोले तामाङ बाहेक अन्य समुदायका दर्शकको पहुँचमा समेत पुर्याउन सकिने देखिन्छ ।

मनोरञ्जनका साथै तामाङ मौलिक संस्कृतिमा आधारित यो चलचित्र हेर्न सोमबार सहभागि अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । आधुनिक प्रविधि,कथा बस्तु,कलाकारको अभिनय,सिनेम्याटोग्राफी,यसभित्र समावेश गीत संगीतको पाटोलाई औसतमा राम्रो प्रतिक्रिया दिएकोले अब आम दर्शकमाझ प्रदर्शनमा लैजान निर्माण टोलीलाई उर्जा मिलेको बताईन्छ ।

सागर लामा गोलेको प्रस्तुती छार ग्यालाम धन बहादुर तामाङ (सागर) को कथा तथा पटककथामा तयार भएको हो,जुन स्वयम् धनबहादुरलेनै निर्देशन गर्नु भएको हो । दिपाका साथै पविना तामाङ,बुद्दमाया तामाङ,इन्द्रमाया तामाङ, कुमारी तामाङ लगायतको निर्माण टोली रहेको चलचित्रमा नायक कुमार मोक्तान र नायिका सुनिता लुङ्बा तथा राहुल मोक्तान र संगीता दोङको मुख्य अभिनय छ ।

चलचित्रमा पहिलो पटक नायक कुमार र नायिका लुङ्बा जोडीको रोलमा देखिनुभएको छ । यो चलचित्रमा उहाँहरुको मुख्य भुमिकालाई धेरै दर्शकले केमेस्ट्रिकै संज्ञा दिएका छन् । यसले गर्दा मोक्तान र लुङ्बा उत्साहित देखिनुभएको छ । आफूहरुको जोडीको रिल कामप्रति औसतमा दर्शकको प्रतिक्रिया राम्रै पाएको नायिका लुङ्बाको भनाई छ ।

चलचित्र हेरेपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिंदै बालुवापाटि नाल्दुमका युवा समिरा तामाङले भन्नुभयो–“कथा बस्तु हाम्रो समाजको हो,पुरानो सामाजिक व्यवस्थाको जस्तो लागेपनि त्यसले आज हामीनेर कहाँ छौं भन्ने कुरा बोध गर्ने अवसर दिएको छ, साथै कलाकारहरुको अभिनय,गीत संगीत राम्रै लाग्यो,यत्तिको तामाङ फिल्मलाई नराम्रो भन्न नमिल्ला ।”

दर्शक प्रतिक्रियाअनुसार मुख्य भुमिका मध्येमै देखिएका नायिका संगीता दोङ र राहुल मोक्तानको अभिनयकलालाई पनि रुचाईएको छ । यि द्धयलाई अझै स्थापित हुन यस चलचित्रबाट सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

आगामी जेठको ४ गते सोही स्थानमा आफ्नो नयाँ फिल्म ‘ल्हुई ह्रो’को प्रिमियर शोका लागि तयारीमा रहनुभएका नायिका दोङ छार ग्यालममा पाएको दर्शकको मायाप्रति खुसी देखिनुहुन्छ ।  

चलचित्रमा ध्रुव तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइबा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले पनि खेलेका छन् ।
रुपेन मोक्तान,सुदिप ङेसुर र राहुल मोक्तानको शब्दमा बुद्ध स्ह्याङवा, सुदिप ङेसुर र प्रयास दोङले संगीत दिनुभएकोमा ति गीतहरु विशाल काल्तान,जितु लोप्चन,सुरेश लामा,बविता पाख्रिन,पुर्णिमा लामा,सुदिप ङेसुरले गाउनुभएको छ ।

राजु किराँतको द्धन्द,तुल्सी बाँस्कोटाले सम्पादन गर्नुभएको यो चलचित्रको छायाँकार लक्ष्मण घिमिरे हुनुहन्छ,रमेश थापा र विरवहादुर लामाको कोरियोग्राफी रहेको छ ।

सोमबारको प्रिमियर शोमा सहभागि काँग्रेस नेता जेशी,पूर्व संविधानसभा सदस्य(सभासद) तथा नेपाली कांग्रेस क्षेत्र नम्बर १ काभ्रेका सभापति तिर्थ लामा, आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत सुनुवार, तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर लगायतले चलचित्र समाजको ऐना रहेको आसय राख्नुभयो ।

कुनै पनि समुदायको चेतनाको विकास तथा भाषा,धर्म,कला संस्कृतिको जगेर्नाका लागि चलचित्रको महत्वपुर्ण भुमिका रहने धारणा राख्दै वक्ताहरुले छार ग्यालम चलचित्र सफलताको शुभकामन व्यक्त गर्नुभयो ।

औपचारिक समारोहमा यस चलचित्रको निर्माणको क्रममा सहयोग गर्ने सहयोगी,टोलीमा आवद्ध लगायतलाई योगदानको कदर गर्दै प्रशंसापत्र तथा मायाको चिनो दिइएको थियो ।

फोटो : विकाशबाबु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस !