• चित्र तमाङ :

रोशी–काभ्रेको रोशी गाउँपालिकामा पहिलो राष्ट्रिय डब्लुआईकेएफ महिला÷पुरुष कराँते कुमाइते तथा काता प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रगतीकिरण डब्लुआईकेएफ शाखा डोजो पहिलो,रिम्स शाखा वौद्ध दोस्रो र बुढानिलकण्ठ शाखा डोजो तेस्रो भए । प्रतियोगितामा उमेर समुह अनुसार पहिलो दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र तथा मेडल प्रदान गरियो । साथै राइजिङ स्टार, वेष्ट प्लेयर, अनुसाशित समूहलाई पनि प्रमाणपत्र, मेडल,शिल्ड प्रदान गरिएको छ ।

स्थानिय प्रगतीकिरण अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कुमाइते र काता तर्फ १५ केजी तौल समुहदेखी ६० केजी उमेर समुह भन्दा माथीका महिला तथा पुरुष खेलाडी सहभागी थिए । मुलुकका ७ वटै प्रदेशका २०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका हुन् ।

प्रतियोगिता भएकोमा खुसी : स्थानिय बुद्धिजीविहरुको चासो

रोशीमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता भएकोमा खुसी व्यक्त गर्दै स्थानिय समाजसेवी तथा बुद्धिजीविहरुले चासो देखाए । उनिहरुले केहिले आर्थिक सहयोग समेत गरे कत्तिले सहयोगको प्रतिवद्धता जनाए ।

प्रतियोगिताको उद्घाटनमा रोशी गाउँपालिकाका प्रमुख दल बहादुर लामा (डिबी) ले खेलुकद स्वास्थ्य र राष्ट्रकै लागि भएको बताउनुभएको थियो । उहाँले खेल र खेलाडीको संरक्षण गर्न आफु र रोशी गाउँपालिका सधै प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

समापनमा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्ब अध्यक्ष सुर्य बहादुर अधिकारीले विजयीहरुलाई बधाई ज्ञापन गर्नुहुदै मुलुकको विकासमा यस्तै प्रतिभाको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । यस्ता खेलकुद प्रतियोगिताले अवसरबाट बञ्चित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।

डब्लुआईकेएफ वरिष्ठ प्रशिक्षक मान बहादुर मोक्तानले खेलकुदमा राजनीति हुँदा खेलाडी र खेलपे्रमीलाई अन्याय भएको बताउँदै दुःखका बिचमा पनि संघर्ष गरेर अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराई सफलता हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

अर्का व्यक्तित्व ज्ञानेन्द्र कुमार तामाङले खेलले सभ्य र समृद्ध समाज निर्माण गर्नुका साथै मानसिक रुपमा तन्दुरुस्त बनाउने उल्लेख गर्नुभयो । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित गराउन पनि सहयोग मिल्ने उहाँको तर्क छ ।

समापन समारोहमा तामाङ चलचित्र संघका अध्यक्ष तथा खलनायक विकु थोकर,गायक विशाल थिङ र हिमाल एसियन कल्चरले मनोरन्जनात्मक प्रस्तुती दिए ।

यहि अवसरमा समग्र खेल क्षेत्रको विकासका लागि भन्दै प्रगतिकिरण अंग्रेजी माविले पैसठ्ठी हजार, नेपाली कांग्रेस नमोवुद्ध नगरसभापती कुन्साङ लामाले एकाउन्न हजार र अन्य २० जनाले पनि गच्छेअनुसार आर्थिक सहयोग गरे ।

नयाँ पतिभाको विकास र अवसर सृजना गरी माथि उकास्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गरेको डब्लुआइकेएफ प्रगतीकिरण डोजोका अध्यक्ष सुमन न्यौपानेले बताउनुभयो ।

समापनमा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामा, नेपाली कांग्रेस नमोवुद्ध नगर सभापती कुन्साङ लामा, वादो इन्टरनेशनल कराँते फेडेरेशनका प्रमुख मान बहादुर मोक्तान, नेपाल ओलम्पिक कमिटीका बोर्ड सदस्य लाल बहादुर लामा, प्रगतीकिरण अंग्रेजी माविका प्राचार्य प्रदीप रेग्मी, सनराइज क्लव काभ्रेका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ लगायतले पनि खेलाडीहरुको मनोवल उच्च रहनेगरी शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !