
- नमोबुद्ध संवाददाता
काठमाडौं–विनायक लोप्चन तामाङद्धारा निर्देशित चलचित्र ‘ल्हुई ह्रो’ (जीवनको साथी) सबै दर्शकलाई लक्षित गरी प्रदर्शनमा ल्याईने भएको छ । यसको पहिलो शो आगामी जेठ ४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सारा खबर अनलाइनका प्रमुख मिलन लामा दोङको सञ्चार सहजिकरणमा भएको पत्रकार सम्मेलनमा निर्देशक लोप्चनले भन्नुभयो–“यो तामाङ चलचित्र हो यद्यपी यसलाई हामीले सबै नेपाली दर्शकमाझ पुर्याउन नेपालीमा समेत डबिङ गरेका छौं,नेपालीमै डबिङ गरेको चलचित्र आउने जेठ ४ गते दिउँसो १ बजे प्रिमियर शो गर्छौं,त्यसपछि यहाँहरुको सल्लाह सुझाव अनुसार अन्य हलहरुमा पनि प्रदर्शन गर्ने तयारीमा लाग्नेछौं ।”
फोटो : विकास बाबु श्रेष्ठ
चलचित्रको कथाबस्तुबारे स्पष्ट पार्नेक्रममा उहाँले थप्नुभयो–“चलचित्र ‘ल्हुई ह्रो’ तामाङ समुदायका युवाहरुबिचको प्रेम सम्बन्ध तथा तिनैको द्धन्दमाथि तयार भएको हो,जहाँ त्रिकोणात्मक प्रेम कथा छ,जसलाई विद्यमान राजनीतिक परिवेशले असर गरेको छ ।”
नायिका संगीता दोङले पनि चलचित्र राम्रो बनेको दावी गर्नुभयो । उहाँले भन्नुभयो–“हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरेका छौं,मैले जुन भुमिका निर्वाह गर्न पाएँ,यसप्रति निर्माण टोलीलाई धन्यबाद दिन चाहन्छु,यसैमाथि पत्रकारहरुको सल्लाह सुझावले हौसीएकी छु ।”
फोटो : विकास बाबु श्रेष्ठ
तामाङ चलचित्रका दर्शकहरु हलभित्र प्रवेश गरेपछि उनिहरुको ध्यान चलचित्रमा भन्दा पनि होहल्ला गर्नतर्फ उद्धत हुनुमा भाषागत अवरोध,कम गुणस्तरको चलचित्र हुनु जस्ता कारण रहेको तर्क गर्दै नायिका दोङले यसप्रति आफूहरु सचेत रहेको बताउनुभयो ।
उहाँले यसैलाई मध्यनजर गरेर सबै भेगको तामाङ र अन्य समुदायका दर्शकले समेत हेर्न पाउन् भनेर नेपालीमा समेत डबिङ गरी “चलचित्र ‘ल्हुई ह्रो’ ल्याईन लागेको स्पष्ट पार्नुभयो ।
मुख्य निर्मात्री सञ्चकुमारी तामाङ(शर्मिला)ले यो चलचित्र निर्माणमा १६ लाख रुपैयाँ लगानी भईसकेको जानकारी दिनुहुदै विनायक लोप्चन,संगीता दोङहरुको टिमको कामको परिणाम राम्रै आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–“मैले अहिलेसम्म ३ वटा तामाङ चलचित्रमा लगानी गरिसकें,यो पटकको मेरो लगानी तामाङ चलचित्रको विकासका साथै विनायक लोप्चन जस्ता प्रतिभाहरुको उत्थानको लागि पनि हो,उहाँ तामाङ समुदायमा मात्रै हैन नेपाली(खस) चलचित्र क्षेत्रमा पनि स्थापित होस् भनेर मेरो सहयोगको निरन्तरता हो ।”
फोटो : विकास बाबु श्रेष्ठ
पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले ‘ल्हुई ह्रो’ लाई तामाङ चलचित्र भनिएकोले निर्माण टोलीले यो चलचित्रमा तामाङ सँस्कार,संस्कृति तथा भाषालाई प्रधान बनाएको भए राम्रो हुने सुझाव दिए ।
निर्माण टोलीले चलचित्र ‘ल्हुई ह्रो’ लाई नेपाली(खस) भाषामा डबिङ गरिएतापनि तामाङ कथानकनै रहेको स्पष्ट पारे ।
चलचित्रमा नायकको भुमिकामा निर्देशक स्वयम् विनायक लोप्चन हुनुहुन्छ भने नायिकाको भुमिका संगीता दोङले निभाउनुभएको छ । लोप्चन,दोङका अलावा कुइसाङ रुम्बा लगायत अन्य दर्जन बढि कलाकारहरुको सशक्त अभिनय यस चलचित्रमा देख्न सकिने निर्मात्री सञ्चकुमारी तामाङले जानकारी दिनुभयो ।
कालिदेवी मिडिया हाउसको व्यानरमा निर्मित चलचित्रको निर्माणमा सञ्चकुमारीलाई समिर लामाले सघाउनुभएको छ,जहाँ कार्यकारी निर्माता भने ध्रुव छिरिङ तामाङ र निर्माण सहयोगीमा शोभितमान लामा हुनुहुन्छ ।
फोटो : विकास बाबु श्रेष्ठ
सेरप लोप्चनको कथा तथा रुपेश थिङ र दिपीका लोप्चनले पटकथा र संवाद रहेको यस चलचित्र रेशम दर्लामी मगरले खिच्नुभएको हो,जहाँ राजु किराँतको द्धन्द र सागर लामाको कोरियोग्राफीलाई पनि कैद गरिएको छ ।
चलचित्रमा दुई वटा गीत समावेश गरिएको छ, एउटा शिर्ष गीत ल्हुई ह्रो जुन आधुनिक शैलीको छ । प्रतिक मोक्तानको शब्द र प्रयास दोङको संगीतम रहेको यो गीतलाई सन्तोष लामा र जितु लोप्चनले गाउनुभएको छ ।
अर्को गीत भने तामाङ मौलिक शैलीमै तयार भएको छ । कुमार स्ह्याङबाको शब्द रहेको यो गीत शशिकला मोक्तानले गाउनुभएको हो ।
यि दुई गीतका साथै चलचित्रको ट्रेलर तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको बाहुलीबाट कालिदेवी मिडिया हाउसको युट्युब च्यानलमार्फत बुधबारनै सार्बजनिक गरिएको हो ।