- नमोबुद्ध संवाददाता
काठमाडौं–तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Film Festival(TIFF) 2019 आयोजक कमिटिले महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार स्वरुप शुक्रबार आधिकारिक पेज तथा वेवसाईटबाट पोस्टर सार्वजनिक गरेको छ ।
वैशाख २६ र २७ गते भृकुटी मण्डपस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव गर्ने घोषणा गरेको टिफ कमिटिले आफ्नो वेवसाईट www.tiffnepal.com र फेसबुक पेज Tamang International Film Festival-TIFF तथा अन्य विभिन्न सञ्चार माध्यममार्फत प्रचारसामाग्री(पोस्टर) सार्वजनिक तथा जानकारी मुलक सुचना प्रकाशन प्रसारण थालिएको हो ।
तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको Knowledge सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने छोटो चलचित्र,वृत्तचित्र र फिचर चलचित्र समेत प्रदर्शन गरिने महोत्सव आयोजक कमिटिका अध्यक्ष विगेन्द्र तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“महोत्सवको घोषणासँगै हामीले महोत्सवका लागि अन्तराष्ट्रिय रुपमै चलचित्र आह्वान गरिसकेका छौं,थुप्रै निर्देशक तथा निर्माताहरुसँग छलफल भईरहेको छ,यसका साथै हामीले आजबाट महोत्सवको प्रचारप्रसारलाई तिव्रता दिन थालेका हौं ।”
महोत्सवको तयारीबारे महोत्सव संयोजक कुमार मोक्तान भन्नुहुन्छ–“आफ्नो मौलिक ज्ञान, संस्कृति, जीवनशैली र विषयबस्तु पस्केर संसारभर आफ्नो मौलिक पहिचान प्रवद्र्धन गर्ने शक्तिशाली माध्यम चलचित्र बन्न सक्छ,यसमा तामाङ विषयमा तामाङ या गैरतामाङ जोकोहीले पनि बनाएका चलचित्र महोत्सवका लागि योग्य हुन सक्छन्,यहि अनुसार तयारी भईरहेको छ ।”
अहिलेसम्म करिब आधा दर्जन बढि संख्यामा चलचित्रहरु सम्पर्कमा आईसकेको जानकारी दिनुहुदै उहाँले महोत्सवमा सहभागि हुने चलचित्र यहि वैशाख १८ गतेसम्म दर्ता गरिसक्नुपर्ने बताउनुभयो । त्यस लगत्तै मापदण्डभित्र परेका चलचित्रहरुको छनौट गरि सार्वजनिक गरिनेछ ।
कुनै पनि माध्यमबाट सार्वजनिक नभएका फिचर फिल्म, सर्ट फिल्म, वृत्तचित्र (डकुमेन्ट्री फिल्म) जस्ता चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनौटमा पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार महोत्सवमा सहभागि उत्कृष्ठ चलचित्रहरुलाई ट्रफि सहितको नगद पुरस्कार पनि प्रदान गरिनेछ । महोत्सवमा अप्रतिस्पर्धीका रुपमा भने यसअघि सार्वजनिक भईसकेका केहि चलचित्र र म्युजिक भिडियोहरुलाई समावेश गराईने छ ।
आयोजक समितिका सदस्य राज तामाङले चलचित्रलाई मुलुककै साँस्कृतिक पर्यटनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सकिने ठूलो सम्भावना रहेकोले यस खाले महोत्सवले गतिलो सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवको आर्थिक विभाग संयोजक समेत रहनुभएका उहाँ भन्नुहुन्छ–“यो कमर्सियल तथा बजारिया सस्तो अवार्ड दिने कार्यक्रम जस्तो हैन,निस्वार्थ सामाजिक भाव,भातृत्व र साँस्कृतिक जागरणको एउटा अभियान हो ।”
तामाङ अन्तराट्रिय चलचित्र महोत्सव(टिफ) २०१९ तामाङ चलचित्र उद्योगलाई गुणात्मक बनाउने र आम तामाङ चलचित्रकर्मी, शुभचिन्तक र दर्शकबीचको सिर्जनशील र साझा मञ्च बनाउने प्रयत्न रहेको अध्यक्ष विगेन्द्र तामाङको भनाई छ । त्यसैले यस महोत्सवमा दर्शकलाई समेत प्रत्यक्ष रुपमा जोड्न आवश्यक रहेकोले महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार थालिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा ‘तामाङ खाना, भेषभूषा, कला प्रदर्शनी साथै पहिलो पटक तामाङ दृष्य कविता (भिजुअल पोइट्री) प्रस्तुत गर्ने कार्यक्रमहरु पनि रहनेछन् ।