
- नमोबुद्ध संवाददाता
तामाङ तथा वौद्ध धर्मावलम्बीले मनाईने ‘तेमाल’ जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन बिहिबार काठमाण्डौं वौद्ध स्तुपमा हजारौं दर्शनार्थी सहभागि छन् । मेला व्यवस्थापनका लागि बौदनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी लगायत ४५ संस्थाका स्वयम्सेवक खटेका क्षेत्र विकास समितका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।
मेला भव्य र सभ्य बनाउन विभिन्न संघसंस्थाले निशुल्क स्वास्थ्य शिविर,जुस तथा खानेपानी वितरण लगायतका कार्यक्रममा सघाएका छन् ।
कोही आफन्त गुमाएकाहरु पितृआत्मा शान्तिका लागि बत्ति बाल्छन् । साथै लामागुरुद्धारा ‘छो फुल्बा’ मोलमपुजा समेत गराउँछन् । कोही जाग्राम म्हानेको कोर्वा गर्छन् । अधवैंशे तथा बुढापाकाहरु तामाङ लोक गीत (फापरे ह्वाअी) मार्फत सुखदुख साटासाट गर्छन् । फापरेका पारखीहरु फापरे दोहोरीमै रात विताउँछन् ।
फोटो : पेमा मोक्तान
तामाङ समुदायबाट लोप हुदै गएको यो गीत अचेल यस्ता मेलाहरुमा मात्र एकाध गाईएको भेटिन्छन् । मेलामा युवायुवतीहरु पनि आफ्नै मौलिक पहिरनमा सजिएर आउँछन् । आफन्तजनहरुसंग भेटघाट,शुभकामना आदानप्रदानका साथै नयाँ नयाँ व्यक्तिहरुसंग चिनजान गर्छन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृतिप्रति नयाँपुस्तामा आकर्षण कम हुदै गएको बताईन्छ ।
पश्चिमा संस्कृतिप्रतिको मोहले आफ्नै पहिचान मेटिनेमा वुढापाकाले चिन्ता जनाईरहदा तेमाल जात्राको रौनक भने कम छैन ।
तेमाल जात्राको किम्बदन्ती :
आदिकालमा राजधानी पुर्व काभ्रेपलाञ्चोकको तेमालका तामाङहरु पैदल यात्रामार्फत रातमा पनि वास नबसी म्हेथाङ(दियालो) बालेर मेला भर्न आउँथे,पुर्णिमाको अघिल्लो दिन बौद्धस्तुपमा मेला भरि भोलीपल्ट सवेरै पैदलै वालाजु धारा पुगी स्नान गर्थे र स्वयम्वु पुगेर पितृकै नाममा वत्ति बाल्थे ।
विशेषगरी तेमालका तामाङहरु आएर मेला भरेको,तेमालका राजा ह्रिन्जेन दोर्जेले समेत आफ्नो राज्यमा मान्यता दिएकोले यो जात्राको नाम तेमाल जात्रा रहन गएको अनुसन्धानकर्ता बताउँछन् । यसकारण पनि परापुर्वकालदेखी चल्दै आएको यो जात्रालाई धार्मिक,साँस्कृतिक र ऐतिहासिक मानिएको बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाले बताउनुहुन्छ ।
पछिल्लो समय तेमालका तामाङहरु मात्रै नभएर मेला भर्न काभ्रेपलाञ्चोक संगै सिन्धुपाल्चोक,रामेछाप,मकवानपुर,सिन्धुली,नुवाकोट,रसुवा,धादिङ लगायत काठमाण्डौं वरपरका तामाङहरु आउने गर्छन् । यो समुदायका अलावा पछिल्लो समय शेर्पा,ह्योल्मो समुदायका मानिसहरु पनि तेमाल जात्रा भर्न आउँछन् ।
बौद्ध स्तुप र स्वयम्भु बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेकोले पनि यहाँ मनाईने तेमाल जात्राको दर्शनार्थी दायरा फराकिलो बन्दै गएको हो ।
भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=rtIlVuyHvDw&t=11s