• नमोबुद्ध संवाददाता

बौद्ध–तेमाल जात्राको अवसरमा बिहिबार तामाङ चलचित्र ‘टुहुरोला ल्हुई’ प्रदर्शनका लागि बौद्ध तामाङ कल्याण गुठीले साथ दिएको छ । तामाङ भाषा र संस्कृतिमा आधारित यो तामाङ चलचित्र बौद्धका तामाङहरुले सहजै हेरुन् भनेर गुठीले हल व्यवस्थापन तथा सहजिकरण गरिदिएको हो ।

बौद्धस्थित सिदार्थ हलमा बिहान ९ र बेलुका ५ बजे एकै दिन दुई सो च्यारिटी गरिएको फिल्मका कथा समेत लेखेका निर्देशक विनय दोङले जानकारी दिनुभयो ।

बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाका अनुसार गुठीले विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ । यसक्रममा तामाङ चलचित्रको विकास,बजार प्रवद्र्धनका साथै संस्कृति आदानप्रदान तथा हस्तान्तरणमा सहयोग पुगोस् भनेर ‘टुहुरोला ल्हुई’ प्रदर्शनमा स्थानिय रुपमा सहजिकरण गरिदिएको अध्यक्ष लामाले बताउनुभयो ।

गुठीले गुठी सदस्य परिवारका अलावा हरेक वर्ष लाग्ने तेमाल जात्राको बेला निशुल्क भोजन,पिउने पानी वितरण,स्वास्थ्य शिबिर जस्ता कामहरु गर्दै आएकोमा यो पटक भने गुठी र बौद्धनाथ क्षेत्रविकास समितिमा आवद्धहरुलाई सहजिकरण गरी तामाङ कथानक चलचित्र प्रदर्शनमा समेत सहयोग गरेको हो । यसमा आर्थिक रुपमा समेत केहि राहात हुने गरी फिल्मको टिकट कटाउन समेत सहयोग गरेको चलचित्र निर्देशक दोङले बताउनुभयो ।

ऋतुराज पाख्रिनको पटकथा तथा संवाद,सागर दोङको प्रस्तुतीको रुपमा रहेको यस चलचित्र तामाङ असहाय टुहुरो बाबालिकाको अवस्था र उनिहरुको क्षमतामाथि केन्द्रित रहेको छ ।

तामाङ जनजीवनको कथालाई नजिकबाट उधिनेको हुनाले तामाङ दर्शकलाईनै लक्षित गरी बौद्ध र स्वयम्भुमा लाग्ने तेमाल जात्राका बेला यो चलचित्र प्रदर्शन गरेको निर्देशक दोङले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“यहि वैशाख ५ र ६ गते पर्ने तेमाल जात्रा भर्न काभ्रे,काठमाण्डौं उपत्यका,सिन्धुपाल्चोक,सिन्धुली,रामेछाप,दोलखा,मकवानपुर सम्मका हजारौं तामाङ दाजुभाई दिदीबहिनी,आमाबुबाहरु आउनुभएको छ ,यहि छेकोमा बौद्ध तामाङ कल्याण गुठीसँग सहकार्य गरी ‘टुहुरोला ल्हुई’ प्रदर्शन गरेका हौं ।”

ज्ञानु राईले खिच्नुभएको चलचित्रको सम्पादन पाका चलचित्रकर्मी संजय बलले गर्नुभएको छ । यस चलचित्रका लागि जेनिश दोङ,डुप्साङ लामा र हस्त लामाले लेखेका गीतहरुमा जोगलाल लामाले संगीत भर्नुभएको छ भने ति गीतहरु शशिकला मोक्तान,अमृत लामा लगायतले गाएका हुन् । बुद्ध लामाको कोरियोग्राफी र सोनाम तामाङको द्धन्द रहेको यस तामाङ चलचित्रले दर्शकको माया पाएकोमा निर्माण टोली खुसी देखिन्छ ।

रोशी फिल्म्स प्रालिको व्यानरमा छ्युमी लामा र म्हारसाङ घिसिङको निर्माणमा तयार भएको यस चलचित्रमा चर्चित नायिका रोशनी ब्लोन,नायक बुद्ध थिङ,खलनायक राजु वाईबा(झक्कास),रोशन लामा,शंखबहादुर तामाङ(जुंगे)लगायतको मुख्य अभिनय छ । सेम्ला माया,धिमनाम,मायाला म्हेन्दो जस्ता चर्चिच चलचित्र निर्देशन गरिसक्नुभएका दोङको यो पछिल्लो चलचित्र हो ।

तामाङ समुदाय र यि समुदायका टुहुरो असहाय बालबालिकालई सामाजिक मनोविज्ञानले कमजोर रुपमा हेरिएपनि अन्ततः उनिहरु आफ्ना क्षमतामा अब्बल हुन्छन् भन्ने सन्देश बोकेको यो चलचित्र पुनः यहि वैशाख २८ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिने निर्देशक दोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !